नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सुनकोसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयम् सेविका सम्मानित

ओखलढुङ्गान्युज, साउन १५, २०७७ मूलखर्क सुनकोसी गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई वडा कार्यालयले सम्मानित गरेको छ । सुनकोसी गाउँपालिकाको वडा नं. ५ मूलखर्कमा वडाका स्वास्थ्य सम्बन्धिका हरेक कार्यक्रममा सहभागी हुदै वडाभित्र मातृशिशु मृत्युदर घटाउनका लागि अहम् भूमिका खेलेको भन्दै वडा भित्रका ६ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मानित गरेको हो ।

महिला स्वास्थ्य स्वयम् सेविकाहरुको सेवा प्रतिको भावलाई उच्च मूल्यांकन गर्दै सेवाभाव प्रति निरन्तर लागि रहन उत्प्रेरणा जगाउने उद्देश्यका साथ महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको सुनकोसी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङका अनुसार महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन स्वरुप सम्मानित ६ जनाको नै १ वर्षको कोरोना विमा समेत वडाले गरिदिएको छ ।

सम्मानित भएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई वडाले १ थान झोला, १ थान टर्च लाईट, १ थान कैची र १ थान ज्वरो नाप्ने थर्मामिटर उपलब्ध गराएको छ । त्यसैगरि आपतका बेला महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई पहिचान गर्न सर्वसाधारणलाई समेत सजिलो होस भनेर प्रत्येक महिला स्वास्थ्य स्वयम् सेविकाको घरमा बोर्ड नम्बर सहितको झण्डाको समेत व्यबस्था गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा महिला स्वास्थ्य स्वयम् सेविका मनमाया तामाङ, लिला तामाङ, सिता तामाङ, चिनी तामाङ, निरमाया तामाङ र असली तामाङ रहेका छन् । महिला स्वास्थ्य स्वयम् सेविकाहलाई सुनकोसी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले सम्मानित गर्नुभएको थियो ।