नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जेष्ठ नागरिक र अशक्तलाई गाउँमा नै पुगेर राहत बाड्दै उपमेयर गुरुङ

ओखलढुङ्गान्युज, साउन १५, २०७७ ओखलढुङ्गा झण्डै चार महिना लामो लकडाउन पश्चात लकडाउन खुलेको छ । कोभिड १९ का कारण आतंकित समाज विस्तारै सामान्य बन्दैछ । समाजमा कोरोना संक्रमणको त्रास उत्तिकै छ । आर्थिक वर्षको समापन र नयाँ आर्थिक वर्ष सुरुवात भएसँगै कतिपय स्थानीय तहका जनप्रतिनिधी फ्रेस बन्न भन्दै जिल्ला बाहिर हुईकिएका छन् ।

तर ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङ भने यस्तो समयमा पनि नागरिकहरुको घरदैलोमा पुगिरहनु भएको छ । विहिबार सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरेमा पुगेर आफैले जेष्ठ नागरिक र अशक्त तथा सुत्केरीहरुलाई राहत वितरण गर्नुभएको छ । लकडाउको कारण समस्यामा परेका र समाजमा अति गरिब तथा विपन्न परिवारका ६० जनालाई विहबार ज्यामिरेमा नै पुगेर राहत तथा पोषिलो खानेकुरा वितरण गर्नुभएको हो ।

राहत पाउनेहरुमा ज्यामिरेका ३७ जना जेष्ठ नागरिक, ८ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, ११ जना गर्भवती र ४ जना ४५ दिन भित्रका सुत्केरी रहेका छन् । जेष्ठ नागरिकहरुलाई १५ केजी चामल, १ लिटर तेल, १ केजी दाल र १ केजी नुन उपलब्ध गराईएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई १ बट्टा च्यावन प्रास, १ वट्टा हर्लिक्स, १ केजी चना र १ केजी केराउ उपलब्ध गराईएको छ ।

त्यसैगरि सुत्केरी महिलाहरुका लागि पनि १ वट्टा च्यावन प्रास, १ वट्टा हर्लिक्स, १ केजी चना, १ केजी केराउ तथा सरसफाईका सामाग्री उपलब्ध गराईएको छ । उता गर्भवती महिलाहरुलाई भने पोषिलो खानेकुरा, सरसफाईका सामाग्रीसँगै १४ प्रकारका सामाग्रीहरु भएको डेक्नेटी किड झोला उपलब्ध गराईएको छ । सामाग्री वितरण कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ, वडा नं. ९ ज्यामिरेका वडा अध्यक्ष दान वहादुर वानिया लगायतका वडाका जनप्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।