नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मोलुङको पात्लेमा सार्वजनिक सुनुवाई, ५ बुदे प्रतिबद्धता जारी  

ओखलढुङ्गान्युज, साउन , २०७७ पात्ले मोलुङ गाउँपालिकाको वडा नं. ७ पात्लेमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । लकडाउन खुलेसगै गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालयको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले ५ बुँदे प्रतिबद्धता पत्र समेत जारी गरेका छन् ।

आर्थिक वर्ष २०७६–७७ मा वडा नं. ७ को पात्लेमा संघिय सरकार, प्रदेश सरकार र मोलुङ गाउँपालिकाको पूँजिगत बजेट अन्तर्गत सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिनुभयो । वडा अध्यक्ष सुनुवारका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम सँगै आर्थिक वर्ष २०७७–७८ मा वडामा सञ्चालन गरिने योजना तथा कार्यक्रम एवम् बजेटको समेत सार्वजनिकीकरण गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक वर्षमा वडामा सञ्चालन भएका योजना उपभोक्ता समितिका अध्यक्ष एवम् प्रतिनिधीहरुले नागरिकहरुको जिज्ञासाको बारेमा जवाफ दिएका थिए । कार्यक्रममा योजना तथा कार्यक्रम सञ्चालन गरेका अधिकांस उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधीले सहभागीता जनाएको भएपनि केहीले भने उपस्थिती जनाएनन् । सेवा प्रदायकका तर्फवाट भूकम्प प्राधिकरणका ईञ्जिनियर प्राबिधिकहरुको उपस्थिती नभएको र नागरिकको गुनासोका बारेमा बेवास्ता गरेको बताएका थिए ।

नागरिकहरुको गुनासोलाई सम्बन्धित सरोकारवालाहरुले सम्बोधन गरिसकेपश्चात वडाका अध्यक्ष हेम बहादुर सुनुवारले वडाका सबै विषयलाई समेटेर नागरिकको गुनासो सम्बोधन गर्नुभएको थियो । भुकम्पको प्राविधिकहरुको उपस्थिती नभएको विषयमा पनि सम्बोधन गर्दै प्राबिधीक नभएको भन्दै कुनैपनि काममा बाधा अड्काउ हुन नदिने वडा अध्यक्ष सुनुवारले प्रतिबद्धता जनाउनुभयो ।

नागरिकहरुले विशेष गरेर मोलुङ गाँउपािलका कार्यालयसँग सडक सञ्जालले वडालाई नछुएको, विद्युतिकरणमा वडा कार्यालय पछाडी परेको, भुकम्पको गुनासोलाई लिएर नागरिकहरु पटकपटक दुःख पाएको गुनासो गरेको थिए । त्यस्तै उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजनाहरुमा योजना सञ्चालनका बारेमा होर्डिङ बोर्ड नभएको, होर्डिङ बोर्ड राख्नु पर्ने, विद्यालयबाट विद्यार्थीहरुलाई प्रदान गर्ने छात्रबृति तथा खाजा खर्च वापतको रकम पुरा नपाएको बारेमा समेत प्रश्न गरेका थिए ।

प्रश्नको जवाफदिदै जवाफदेही वक्ताहरुले आगामी दिनमा सञ्चालन हुने योजनाका कार्यक्रमहरुमा अनिवार्य रुपमा होर्डिङ बोर्डको व्यबस्थापन गर्ने, विद्यार्थी भर्ना र विद्यालयले भर्ने ईएमआईसमा समस्या हुदा विद्यार्थीले पाउने छात्रबृत्ति र पाठ्य पुस्तकको रकम गाउँपालिकाबाट कम निकासा भएकोले आगामी दिनमा त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । सामुदायीक विद्यालयले आफ्नो काम गर्ने र विद्यालयमा अपुग भएको छात्रबृत्ति वापतको रकम र पाठ्यपुस्तक वापतको पैसा कम निकासा भएको विषयमा भने वडा अध्यक्षले गाउँ कार्यपालिकाको बैठक मार्फत पहल गर्ने लगायत प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रम मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेको आयोजना तथा सोच नेपाल ओखलढुङ्गाको सहजिकरणमा सम्पन्न भएको हो । लकडाउन तथा प्रतिकुल मौसमका बाबजुद पनि एक सय भन्दा बढि नागरिकहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।