नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

लकडाउन त खुल्यो तर के के मा ?

ओखलढुङ्गान्युज, साउन ६, २०७७ । काठमाडौँ । चैत ११ देखी जारी गरिएको लकडाउन साउन ६ गते अर्थात मंगलबार राति १२ बजेपछि हट्ने भएको छ । लकडाउनलाई सरकारले निरन्तरता नदिने भएसँगै सवारी साधनमा लागु भएको जोरबिजोर प्रणाली पनि बुधबारबाट हट्ने भएको छ ।

बुधबारबाट लकडाउन हटेपनि केही बस्तु तथा सेवाको सञ्चालनका लागि केहि समय कुर्नु पर्ने भएको छ । मंगलबार साझ मन्त्री परिषद्को निर्णय बारे जानकारी गराउदै सरकारका प्रवक्ता एवं अर्थ/सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउन खुला भएपनि केहीमा भने जारी रहने जानकारी दिनुभयो ।

प्रवक्ता डा. खतिवडाका अनुसार साउन १५ गतेदेखि होटल तथा रेस्टुराँ खुल्ने भएका छन् । होटल तथा रेस्टुराँ व्यवसाय खुलेपनि ठूलो पार्टी, भोज भतेर गर्न पाइनेछैन । ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको छ।

त्यस्तै सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली खारेज गरिएको छ । बुधबार देखि सबै प्रकारका सवारी साधन विना रोकतोक सञ्चालन गर्न पाइने छ । तर लामो दुरीको सवारी साधन आवागमनमा भने रोक लगाइएको छ ।

सरकारका प्रवक्ता डा. खतिवडाका अनुसार विद्यार्थीलाई स्कुल भर्ना गराउन खुला गरिएको छ । विद्यार्थी भर्ना खुला भएपनि अर्काे सूचना नआएसम्म विद्यालय खुल्ने छैनन् । खेलकुद लगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि सञ्चालन गर्न सकिने छ । प्रवक्ता डा खतिवडाका अनुसार भदौ १ गतेदेखि नै अन्तर्राष्ट्रिय हवाई आवागमनमा समेत खुला गरिएको छ ।