नेपाली समय Loading...२०८१ बैशाख ५ बुधबार

ओखलढुङ्गामा करदाता सेवा कार्यालय सुरु

खलढुङ्गान्युज, साउन ३, २०७७ । ओखलढुङ्गा। ओखलढुङ्गा जिल्लामा पहिलोपटक करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लामो समयदेखि चर्चामा रहेको करदाता सेवा कार्यालय साउन १ गते विहिवारबाट भने औपचारिक शुभारम्भ भएको हो ।

विहिवारबाट सञ्चालनमा आएको यो करदाता सेवा कार्यालयले विशेष गरी सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका बाहेक ओखलढुङ्गा र सोलुखुम्बुका करदाता सेवाग्राहीलाई सेवा प्रदान गर्नेछ । ओखलढुङ्गामा करदाता सेवा कार्यालय खुलेसँगै यी दुवै जिल्लाका करदातालाई सहज भएको छ । ओखलढुङ्गामा करदाता सेवा कार्यालय सुरु भएसँगै यी दुई जिल्लाका सेवाग्राहीहरु कर तिर्नका लागि प्रदेश नं २ मा रहेको सिरहाको लहान जानुपर्ने बाध्यता हटेको छ ।

कार्यालयले व्यक्तिगत स्थायी लेखा नम्बर, व्यवसायिक स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर दर्ता, अन्त शुल्क दर्ता एवं इजाजत पत्र वितरण/जारी तथा नवीकरण, स्थायी लेखा नम्बर लिँदाको विवरण/जानकारी संशोधन तथा कारोबार/शाखा थपघट सम्बन्धिको सेवा दिनेछ । त्यस्तै मूल्य अभिबृद्धि करण विवरण, अन्त शुल्क विवरण र आय विवरण रुजु, कर चुक्ता प्रमाणपत्र, कर समायोजन, स्थायी लेखा नम्बर स्थगन/खारेजी, खरिद तथा बिक्री खाता प्रमाणित लगायतका १४ प्रकारका सेवा कार्यालयबाट उपलब्ध हुनेछ ।