नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

विहिबारवाट भारतीय न्युज च्यानलहरु नेपालमा प्रसारण बन्द

ओखलढुङ्गान्युज, असार २५, २०७७ काठमाण्डौं विहिबारवाट भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले विहिबार साँझबाट भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् ।

पछिल्लो समय भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेका छन् । त्यसैक्रममा नेपालका प्रधानमन्त्री केपि शर्मा वली तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि भारतीय न्युज च्यानलहरु नेपालमा प्रसारणमा रोक लगाईएको हो । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण नेपालमा रोक्ने निर्णय गरेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिनुभयो ।

भारतीय न्युज च्यानलहरुले नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि वितरकहरु आफैं सल्लाह गरेर त्यस्ता आपत्तिजनक न्युज प्रसारण गर्ने सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेको शर्माले वताउनुभयो ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामूहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । तर इन्टरनेटबाट आउने सामग्रीलाई भने सरकारले नीति नल्याएसम्म चाहेरमात्र भारतीय च्यानलको प्रसारण रोक्न नसक्ने एमएसओहरुले बताएका छन् । सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् ।