नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गा कोरोना भाईरस मुक्त, निको भए ओखलढुङ्गाका कोरोना संक्रमित

ओखलढुङ्गान्युज, असार २२, २०७७ । ओखलढुङ्गा । शोमबारवाट ओखलढुङ्गा जिल्ला कोरोना भाईरस मुक्त भएको छ । जिल्लाको लिखु गाउँपालिका वडा न ३ का कोरोना भाईरस संक्रमित २८ वर्षिय युवकले कोरोनालाई जितेर निको भएसगै ओखलढुङ्गा जिल्ला हाल कोरोना मुक्त भएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।

भारतबाट विरगञ्जहुँदै जेठ महिनाको अन्तिम साता घर आएका उनलाई गाउँपालिकाले सिधै गाउँपालिकाको क्वारेन्टाईन यसममा राखेको थियो । उनको पिसिआर परीक्षणका क्रममा असार ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । संक्रमणको पुष्टि भएसँगै उनलाई थप उपचारका लागि मोरङको गोठगाँउमा रहेको कोरोना अस्पतालमा राखिएको थियो ।

कोरोना अस्पतालमा १४ दिन सम्मको उपचारपछि निको भएर उनी शोमबार अस्पतालवाट डिस्चार्ज भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो । युवकलाई लिखु गाउँपालिकाको व्यबस्थापनमा शोमबार नै घर पठाईदै गरेको फोकल पर्सन तिवारीले बताउनुभयो ।

शोमबार डिस्चार्ज भएका युवक ओखलढुङ्गा जिल्लाका पहिलो संक्रमित व्यक्ति हुन् ।  ती युवा बाहेक हालसम्म जिल्लामा अरु कसैलाई कोरोना संक्रमण देखिएको छैन । उनी डिस्चार्ज भएसँगै ओखलढुङ्गा जिल्ला कोरोना भाईरस संक्रमण मुक्त भएको छ ।

जिल्लामा शोमबार सम्म ३ सय २८ जनामा कोरोना परीक्षण गरिएको छ । त्यस मध्ये २ सय ४४ जनाको कोरोना परीक्षण नेगेटिभ आएको छ भने ८३ जनाको रिपोर्ट आउन बाकी रहेको छ । शोमबार नै जिल्लाका विभिन्न स्थानमा कार्यरत रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुको समेत स्वाब संकलन गरि परीक्षणका लागि विराटनगर पठाईएको छ ।