नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जननेता स्वर्गिय मदन भण्डारीको जन्मजयन्तीमा ओखलढुङ्गामा वृक्षारोपण

ओखलढुङ्गान्युज, असार १४, २०७७ ओखलढुङ्गा आज जननेता स्वर्गिय मदन भण्डारीको ६९ औं जन्मजयन्ती । स्वर्गिय नेता भण्डारीको जन्मजयन्तीको अवसर पारेर ओखलढुङ्गामा पनि बृक्षारोपणका साथै ओखलढुङ्गा सामुदायीक अस्पताल ओखलढुङ्गामा रहेका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

जन्मजयन्तीको अवसर पारेर सिद्धिचरण नगरपालिका वडा नं. १२ मा रहेको महिला छात्राबासको कम्पाउण्डका साथै श्रष्टापार्क आसपासमा बृक्षारोपण गरिएको हो । बृक्षारोपण कार्यक्रममा आँप, लिचि, धुपी र सल्लाका विरुवाहरु रोपिएका छन् । बृक्षारोपण कार्यक्रम पश्चात आयोजित एक कोण सभामा सहभागीहरुले स्वर्गीय जननेता भण्डारीको तस्वीरमा माल्यार्पण गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले जननेता स्वर्गीय भण्डारीको योगदान तथा उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादलाई देशका कुना कुना सम्म फैलाउने प्रतिबद्धता जनाएका थिए । फाउण्डेशनका जिल्ला उपाध्यक्ष सचना राजभण्डारीको स्वागत मन्तव्य तथा फाउण्डेशनका जिल्ला अध्यक्ष ईच्छा कुमारी गुरुङको अध्यक्षतामा भएको कोणसभामा नेकपाका ओखलढुङ्गा जिल्ला सचिव एवम् सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, नेकपाका प्रभावशाली जिल्ला नेता नेत्र प्रसाद भट्टराई, केदारबाबु बस्नेत, ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाका प्रमुख सुमन राजभण्डारी लगायतले जननेता भण्डारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

असार १४ गते जन्मिएका जननेता स्वर्गीय भण्डारीको २०५० साल जेठ ३ गते तत्कालीन नेकपा एमालेका नेता जिवराज आश्रितसँगै दासढुंगामा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । तत्कालीन एमालेका नेता तथा कार्यकर्ताहरुले मदन भण्डारीको दुर्घटनामा परि मृत्यु भएको नभई योजनाबद्ध रुपमा हत्या भएको आरोप लगाउदै आएका छन् । तथापी कसले किन हत्या गर्यो भन्ने बारेमा हालसम्म पनि कुनै दोषि पत्ता लागेको छैन ।

करीब एक वर्ष अगाडी ओखलढुङ्गामा पनि मदनभण्डारी फाउण्डेशन नेपाल जिल्ला कार्य समिति ओखलढुङ्गा स्थापना गरिएको थियो । फाउण्डेनले जिल्लाका सबै स्थानीय तहहरुमा शाखा विस्तार गर्ने तयारी समेत थालेको छ ।

तस्वीरमा वृक्षारोपण तथा फलफुल वितरण कार्यक्रम ः