नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

रसुवामा पनि देखिए कोरोना संक्रमित

ओखलढुङ्गान्युज, असार १३, २०७७ काठमाण्डौं शनिबार रसुवा जिल्लामा पनि कोरोना संक्रमित व्यक्ति भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रसुवा जिल्लामा कोरोना संक्रमित फेला परेको जानकारी दिनुभयो ।

प्रबक्ता डा. गौतमका अनुसार रसुवा जिल्लामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । ९ जना मध्ये ७ जना कुवेतवाट आएको र २ जना भारतवाट आएको बताईएको छ । शनिवार रसुवामा समेत कोरोना संक्रमित भेटिए पछि अब नेपालको ७७ ओटै जिल्लामा कोरोना संक्रमित पुगेका छन् ।

मन्त्रालयका अनुसार शनिवार देशका विभिन्न स्थानमा गरिएको पिसिआर परीक्षणमा ५ सय ५४ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । शनिबार थपिनेमा १ सय २० जना महिला र ४ सय ३४ जना पुरुष रहेका छन् । यो सगै नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

त्यसैगरि नेपालमा हालसम्म कोरोना संक्रमित निको भएर फर्कनेहरुको संख्या पनि २ हजार ८ सय ३४ पुगेको छ । त्यस्तै शनिवार सम्म कोरोना भाईरस संक्रमणको कारण नेपालमा मृत्यु हुनेहरुको संख्या पनि २८ पुगेको छ ।