एक प्रहरी जवान सहित ओखलढुङ्गाका ५४ को पिसीआर रिपोर्ट नेगेटिभ
ओखलढुङ्गान्युज, असार २, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा एक प्रहरी जवान सहित ५४ जनाको कोरोना भाइरस परीक्षण (पिसीआर) रिपोर्ट नेगेटिभ आएको छ । विदेशबाट नेपाल ल्याउन सरकारले सहजीकरण गरे लगत्तै भारतबाट ओखलढुङ्गा भित्रिएका उनीहरुको कोरोना भाइरस परीक्षण पिसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
पछिल्लो समय ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानीय तहहरुमा १ सय भन्दा बढी नागरिक भित्रिएका छन् । भारतबाट भित्रिएका उनीहरु सबैलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राखिएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । जिल्लाको ८ ओटा स्थानीय तहहरु मध्ये ४ ओटा स्थानीय तहहरुको क्वारेन्टाइनमा रहेका सबैको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख एवम् जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन सुमन तिवारीले जानकारी दिनुभयो ।
प्रदेश नं १ को स्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा मंगलबार बिहान उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका चम्पादेबी गाउँपालिकाका ३४ ,सुनकोशी गाउँपालिकाका ११, सिद्धिचरण नगरपालिकाका ६ र मोलुङ गाउँपालिकाका ३ जना रहेका छन् ।
कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएका उनीहरु यो समाचार तयार पार्दासम्म संबन्धीत गाउँपालिकाको क्वारेन्टीनमा नै रहेका छन् । परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अझै केही दिन होम क्वारेन्टाइनमा रहनेगरि घर पठाउने तयारी गरिएको तिवारीले बताउनुभयो । यसअघि पनि ओखलढुङ्गाका विभिन्न स्थानीय तहका २७ जनाको पिसीआर परीक्षण गरिएको थियो । उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आईसकेको छ । यो संगै जिल्लामा ८१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।