नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

शुक्रबार थपिए कोरोनाका २ सय ७८ संक्रमित

ओखलढुङ्गान्युज, जेठ २३, २०७७ काठमाण्डौं शुक्रबार एकैदिन २ सय ७८ जना कोरोना भाईरसका नया संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नयाँ संक्रमितहरु थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो ।

प्रबक्ता देवकोटाका अनुसार शुक्रबार थपिएका संक्रमितहरुमा ११ जना महिला रहेका छन् भने २ सय ६७ जना पुरुष रहेका छन् । यो सगै अब कोरोना भाईरस संक्रमण नेपालका ६८ जिल्लामा विस्तार भएको छ । पछिल्लो परीक्षण रिपोर्ट अनुसार ओखलढुङ्गाको छिमेकी जिल्ला रामेछापमा पनि कोरोना भाईरसका १७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रबक्ता देवकोटाका अनुसार देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै कोरोना पोजेटिभ भएकाहरु मध्ये हाल २ हजार ५ सय ६५ जना आईसोलेसनमा रहेको र ३ सय ३३ जना कोरोना निको भएर डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमितहरु मध्ये ११ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयका प्रबक्ता देवकोटाले जानकारी दिनुभयो ।