नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

खिजिदेम्बाका कृषकलाई कृषि सामाग्री हस्तान्तरण

ओखलढुङ्गान्युज, जेठ १९, २०७७ खिजीफलाटे खिजिदेम्बा गाउँपालिकाले पालिकाका कृषकहरुलाई विभिन्न कृषि सामाग्रीहरु अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले आईतवार एक कार्यक्रमका बिच कृषकहरुलाई उक्त कृषि यान्त्रिक सामाग्रीहरु वितरण गरेको गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले जानकारी दिनुभयो ।

कृषिमा व्यावसायिकीकरण तथा यान्त्रिकरण गर्ने गाउँपालिकाको नीति अनुसार खिजीदेम्बा गाउँपालिकाले कृषकलाई सामाग्री हस्तान्तरण गरेको हो । गाउँपालिकाको नीति अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को अन्तिम पटकको कृषक समाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गाउँपालिकाको ७५ देखी १०० प्रतिशत सम्मको अनुदानमा कृषकहरुका लागि कृषि सहकारी, कृषि फारम तथा कृषक समूह मार्फत कृषकहरुलाई कृषि सामाग्री तथा वीउविजन वितरण गरिएको हो ।

वितरण गरिएको कृषि सामाग्रीहरुमा हाते ट्रयाक्टर ४ ओटा, मकै छोडाउने मेसिन ४ ओटा, आधुनिक माहुरी घार ५५ ओटा, प्लाष्टिक टनेल ५० थान रहेको छ । त्यस्तै हजारी १ सय ८० थान, स्प्रिङकल १ सय ८९ तथा विभिन्न प्रजातीका फलफुल तथा तरकारी र मसलाजन्य विउ विजनहरु वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अगाडी पनि गाउँपालिकाको बजेट मार्फत कृषकहरुलाई कृषि सामाग्री तथा विउविजन वितरण गरेको थियो ।