नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ कोरोना संक्रमित थपिए

खलढुङ्गान्युज, जेठ १८, २०७७, काठमाण्डौं । पछिल्लो पटकको सार्वजनिक तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमितहरुको सङ्ख्या १ हजार ४ सय १ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या नेपालमा १ हजार ४ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित हुनेहरु मध्ये हालसम्म २ सय १९ जना निको भैसकेका छन् भने कोरोना भाइरस संक्रमणको कारण ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमित मध्ये कपिलवस्तुका मात्रै १ सय ९ जना छन् ।

पछिल्लो पटक सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सर्लाहीका १७, सिराहाका ११ र सप्तरीका ९ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी धनुषाका ७, रौतहटका ४, पर्साका २ र बाराका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उता दैलेखमा पनि १४ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै दाङमा ५, संखुवासभामा २ जना, झापाका १ र ललितपुरमा १ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा नेपालमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या उच्च गतिमा बढीरहेको छ ।