नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गा जिल्लालाई सवा २ अर्ब बजेट

ओखलढुङ्गान्युज, जेठ १६, २०७७ । ओखलढुङ्गा आर्थिक वर्ष २०७७/७८ मा ओखलढुङ्गा जिल्लाका ८ ओटा स्थानीय तहहरुले सवा २ अर्ब बजेट पाउने भएका छन् । बिहिबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गर्ने क्रममा ओखलढुङ्गाका स्थानीय तहहरुका लागि करिब सवा दुई अर्ब अर्थात् २ अर्ब ३३ करोड ६९ लाख बजेट विनियोजन गरिएको बताउनुभएको हो ।

बिहिबार संसदमा अर्थमन्त्री खतिवडाले गर्नुभएको बजेट भाषण अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ को बार्षिक बजेटमा जिल्लाको सबैभन्दा बढी सिद्धिचरण नगरपालिकाले ४१ करोड १० लाख बजेट पाएको छ । जिल्लाका ८ ओटा स्थानीय तहहरु मध्ये सबैभन्दा कम लिखु गाउँपालिकाले २४ करोड २५ लाख रुपैयाँ मात्र बजेट बिनियोजन गरिएको छ ।

बजेट भाषणमा घोषणा गरिए अनुसार जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाले ३१ करोड ८५ लाख, सुनकोशी गाउँपालिकाले २९ करोड २७ लाख, खिजिदेम्बा गाउँपालिकाले २८ करोड १९ लाख, मोलुङ गाउँपालिककाले २७ करोड बजेट पाएको छ । त्यसैगरी चिशंखुगढी गाउँपालिकाले २६ करोड ८५ लाख र चम्पादेवी गाउँपालिकाले २५ करोड १८ लाख बजेट पाएको छ । घोषणा गरिएको बजेटमा समानिकरण, सशर्त, विशेष र समपुरक अनुदान समेत समावेश रहेको छ ।