नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

लकडाउनमा घरमा नै पुगेर नगरपालिकाको सामाजिक सुरक्षा भत्ता

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा लकडानको समयमा सिद्धिचरण नगरपालिकाले नागरिकहरुको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सिद्धिचरण नगरपालिकाले मंगलवारवाट नगरक्षेत्रका विभिन्न वडाहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

सिद्धिचरण नगरपालिकाका केही वडाहरुले सामाजिक सुरक्षा भत्तालाई यस अगाडी बैंक खातामा जम्मा गर्ने गरेको भएपनि यसपटक चाही घरघरमा नै पुगेर नगदै वितरण गर्न थालिएको छ । लकडाउनको समयमा नागरिकहरु हिडेर वडा सम्म आईपुग्न नसक्ने र आपतको वेलामा सामाजिक सुरक्षा बापतको रकम हस्तान्तरण गर्दा केही थप सहयोग पुग्ने भएकोले घरघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले वडा नं. ३ र ५ बाट सामाजिक सुरक्षा बापतको भत्ता वितरण सुरुवात गरेको छ । केहीदिनमा नै नगरपालिकाका सबै वडामा भत्ता वितरण गरिसक्ने योजनाका साथ नागरिकको घरघरमा नै पुगेर भत्ता वापतको रकम वितरण सुरुवात गरेको नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले जानकारी दिनुभयो । उपप्रमुख गुरुङका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडामा पुगेको बेला आर्थिक वर्ष २०७६÷७७ मा वडामा सञ्चालन भएका योजनाहरुको अनुगमन पनि गरिएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।

सिद्धिचरण नगरपालिकाले एक चौमासिकमा करिब २ हजर ८ सय जनालाई झण्डै रु २ करोड ९९ लाख सामाजिक सुरक्षा वापतको भत्ता वितरण गर्दछ । नगरपालिकाका १२ वडाहरु मध्ये वडा नं. ११ र १२ का केहीको सामाजिक सुरक्षा भत्तालाई बैंक खातामा जम्मा गर्ने गरेको भएपनि यसपटक सम्बन्धित व्यक्तिलाई नगद नै हस्तान्तरण गर्ने योजना नगरपालिकाले बनाएको छ । भत्ता वितरणका लागि नगर प्रमुख मोहन कुमार श्रेष्ठ, उपप्रमुख ईच्छा कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धित वडाका वडा अध्यक्ष तथा वडा सचिबहरु समेत पुगेका थिए ।