नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

उपचारका लागि ओखलढुङ्गा अस्पताल ल्याउदै गर्दा एक विरामीको मृत्यु, कोरोनाको आशंका

ओखलढुङ्गान्युज, जेठ , २०७७ ओखलढुङ्गा उदयपुर जिल्लाको घुर्मीवाट उपचारका लागि ओखलढुङ्गा सामुदायीक अस्पताल ल्याईदै गरेको एकजना विरामीको बाटैमा मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाका फिक्कल गाउँपालिकाका ४६ वर्षका पुरुष रहेका छन् ।

मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमित भएको आशंका गरिएको छ । मृतकको शबलाई अहिले जिल्ला अस्पताल रुम्जाटारमा राखिएको छ । मृतक कोरोना संक्रमित भएको हुनसक्ने आशंकामा अहिले जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार र जिल्ला अस्पताल रुम्जाटारमा उच्च सतर्कता अपनाईएको छ ।

मृतक पुरुषमा विगत चार/पाँच दिन देखी उच्च ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या रहेको पारिवारिक श्रोतले जनाएको छ । विरामीमा उक्त समस्या भएपछि उनलाई उपचारका लागि उदयपुर जिल्लाको घुर्मीमा रहेको एक क्लिनिकमा राखि उपचार गरिएको थियो । उपचारका क्रममा विरामीलाई थप गाह«ो भएपछि उपचारका लागि काठमाण्डौं लैजान टाढा भएकोले ओखलढुङ्गाको सामुदायीक अस्पतालमा लगिएको थियो । विरामीलाई अस्पताल लैजादै गर्दा बाटामा नै मृत्यु भएको हो ।

मृत्यु भैसकेका ती पुरुषलाई सामुदायीक अस्पताल सोब्रुमा लगिएपनि अस्पतालले मृतकको पोष्ट मार्टम गर्न र कोरोना सक्रमणको लक्षण देखिएको भन्दै जिल्ला अस्पताल रुम्जाटारमा लान सुझाएको थियो । अस्पतालको सुझाब अनुसार मृतकलाई रुम्जाटार पुर्याईएको थियो । शब रुम्जाटार पुर्याईएपछि जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको टोलीले मृतकको आरडिटी परीक्षण गरेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । मृतकको आरडिटी परीक्षण रिपोर्ट भने नेगेटिभ आएको पनि प्रमुख तिवारीले जानकारी दिनुभयो ।

आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपनि मृतकमा कोरोना संक्रमणको लक्षण रहेकोले स्वाब परीक्षणका लागि स्वाब लिएर काठमाण्डौं पठाउने तयारी गरिएको छ । मृतकलाई के गर्ने भन्ने विषयमा जिल्ला कमाण्ड पोष्टमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार मृतकको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपनि त्यसैमा मात्र विश्वास गरेर बस्न नसकिने भएकोले मृतकको स्वाब लिई परीक्षणका लागि यो समाचार तयार गर्दासम्म काठमाण्डौं पठाउने तयारी भैरहेको छ ।

मृतक पुरुषको स्वाब सगै कोरोना संक्रमित क्षेत्रबाट ओखलढुङ्गा भित्रिएका ओखलढुङ्गाका अन्य ७ जना व्यक्तिहरुको समेत अहिले स्वाब लिई पिसिआर परिक्षणका लागि काठमाण्डौं पठाईने तयारी छ । पिसिआर परीक्षणका लागि लिईएको स्वाबलाई सकेसम्म शोमबार राती नै र त्यो सम्भावना नभए मंगलबार विहान नै काठमाण्डौं पठाईने जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन तिवारीले जानकारी दिनुभयो ।