अझै एकहप्ता मौसम बदली भई पानी पर्ने
ओखलढुङ्गान्युज, बैशाख २२, २०७७ । काठमाण्डौं । अहिले देशको अधिकांश स्थानमा मौसम बदली भैरहेको छ । केही स्थानमा पानी समेत परिरहेको छ । आज देशको धेरैजसो स्थानमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । मौसमविद् नगरकोटीका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको हो ।
यसपालि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले लगातार जसो पानी परिरहेको छ । विगत दुई वर्ष यसरी लगातार जसो पानी नपरे पनि यसपालि बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको हो । मौसमविद् नगरकोटीले यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिनुभयो ।