नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भारतवाट आएका एक पुरुषको मृत्यु, स्वाब परीक्षणका लागि काठमाण्डौं पठाईयो 

ओखलढुङ्गान्युज, बैशाख १८, २०७७ । ओखलढुङ्गा । रोजगारीको सिलसिलामा भारत गएर कोरोना महामारीको समयमा गाउँ फर्किएका ओखलढुङ्गाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं. ७ साविकको माम्खा गाविसका वर्ष ४२ का पुरुष रहेका छन् ।

माम्खा घर भएका उनी सपरिवार सहित एक महिना अगाडी मात्रै भारतवाट नेपाल आएका थिए । करीब एक महिनासम्म काठमाण्डौंमा रहेका उनी लामो समय सम्म लकडाउन रहने भएपछि माम्खा घर फर्किएका थिए । घरमा आएका उनको परिवारलाई नै पालिकाले निर्माण गरेको क्वारेन्टाईनमा राख्न खोजेको तर नमानेपछि होम क्वारेन्टाईनमा नै रहेको चिशंखुगढी गाउँपालिकाका उपाध्यक्ष सुष्मिका राईले जानकारी दिनुभयो ।

बुधवार दिउसो अचानक अत्याधिक ज्वरो सगै र स्वास फेर्न गाह«ो भएपछि मुटु दुख्यो भनेर परिवारलाई बताएको परिवार श्रोतले जनाएको छ । उपचारका लागि रुम्जाटार अस्पताल जान भनि घरवाट केही दुरी हिडेका उनी हिड्न नसकेपछि गाडीको ब्यबस्था गरि ईमजेन्सीमा उनलाई बुधबार नै रुम्जाटार अस्पताल ल्याईएको थियो । अस्पतालमा ल्याउने क्रममा नै उनको बाटोमा नै मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

उनी भारतवाट फर्किएको हुनाले कोरोना संक्रमणको आशंकामा उनको बुधबार नै आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रमुख तिवारीले जानकारी दिनुभयो । उनीमा कोरोना भाईरसको संक्रमण थियो कि थिएन भनेर स्वाबलाई परीक्षणका लागि विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाईएको छ ।