नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

लिखु र चम्पादेवीको क्वारेन्टाईनको अर्थसमिति सभापति खड्काद्वारा अनुगमन

ओखलढुङ्गान्युज, बैशाख १७, २०७७ घोराखोरी प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सांसद मोहन कुमार खड्का हिमशिखरले लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकामा रहेका क्वारेन्टाईनको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा सभापति खड्काले क्वारेन्टाईनमा रहेकाहरुको अबस्था तथा जिल्ला बाहिरबाट जिल्लामा भित्रिएकाहरुको अबस्थाका बारेमा सम्बन्धित गाउँपालिकार र वडाहरुसँग छलफल गर्नुभएको छ ।

अनुगमन पश्चात भएको छलफलका क्रममा सभापति खड्काले जिल्ला भन्दा बाहिरवाट जिल्ला भित्रिएकाहरुका बारेमा गाउँपालिका र सम्बन्धित वडाहरुले विशेष ध्यान दिन अनुरोध गर्नुभएको छ । अनुगमनका क्रममा वडा अध्यक्षहरुले गाउँपालिकाका तर्फवाट कोरोनाका कारण भैरहेको लकडाउनका प्रभावितहरुलाई वितरण गर्ने राहतका बारेमा समेत छलफल गर्नुभएको थियो । छलफलका क्रममा कुनै आगलागी, बाढि पहिरो वा अन्यलाई तत्कालको व्यबस्थापनका लागि राहत दिने नभई यो संक्रमण लामो समयसम्म समेत रहन सक्ने भएकोेले प्रत्येक गाउँपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको बारेमा समेत चासो लिनुभएको थियो । लकडाउनको समयमा जिल्ला भन्दा बाहिर रहेका नागरिकहरुको अबस्थाका बारेमा समेत गाउँपालिकाले ध्यान दिन र गाउँपालिकामा फर्किएका नागरिकहरुको बारेमा समेत गाउँपालिकाले विशेष निगरानीमा राख्न अनुरोध गर्नुएको छ ।

शोमबार सम्मको तथ्यांक अनुसार लिखु गाउँपालिकाको साघुँटार नाका र सिरिसे नाकाबाट ३ हजार १ सय नागरिक लिखु गाउँपालिका भित्रिएको बताईएको छ भने चम्पादेवी गाउँपालिका वडा नं. ६ घोराखोरीवाट करीब ७ सय नागरिक भित्रीएको बताईएको छ । लिखु गाउँपालिकामा भित्रिएका नागरिकहरुलाई सुरक्षितताका साथ होम क्वारेन्टाईनमा नै रहन सूचना जारी गरेको छ । त्यस्तै चम्पादेवी गाउँपालिकाले भने वडा नं. ६ मा मात्रै काठमाण्डौंबाट आएकाहरुलाई समेत क्वारेन्टाईनमा राखेको छ भने अरु वडामा आएका नागरिकहरुलाई सुरक्षितताका साथ होम क्वारेन्टाईनमा नै रहन अनुरोध गरेको छ ।