नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

रोगको डरले विकासको काम नरोकौं ः राज्यमन्त्री गुरुङ

ओखलढुङ्गान्युज, बैशाख १३, २०७७ ओखलढुङ्गा प्रदेश नं. १ सरकारले देश लकडाउनको मारमा परिरहेको बेला समेत १ नम्बर प्रदेश भित्र भने भौतिक विकासको कामलाई निरन्तरता दिने भएको छ । प्रदेश सरकारले १ नम्बर प्रदेश भित्रका सबै १४ ओटै जिल्लाहरुमा लकडाउनको समयमा समेत विकासका कामलाई अगाडी बढाउने गरि तयारी थालेको हो । 

शुक्रबार गृह जिल्ला ओखलढुङ्गा आउनुभएका प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्रि अम्बिरबाबु गुरुङले शुक्रबार सरोकारवालाहरु सँग भएको छलफलको क्रममा यस्तो बताउनुभएको हो । छलफलका क्रममा राज्यमन्त्रि गुरुङले कोरोना भाईरसको संक्रमणवाट बच्नका लागि उच्च सतर्कता अपनाउदै प्रदेशमा सञ्चालनमा रहेका अति आवश्यकिय योजनाहरुमा स्थानीय श्रमिकहरुलाई प्रयोग गरि अगाडी बढाउने तयारी भैरहेको समेत उहाँले जानकारी दिनुभयो ।

छलफलका क्रममा राज्यमन्त्रि गुरुङले ओखलढुङ्गामा पनि त्यसको तयारीका साथै स्थानीय श्रमिकहरुको प्रयोग गरि विकासका कार्यलाई सञ्चालन गर्ने वातावरण मिलाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारले विकासका काम नरोक्ने यस अगाडी नै निर्णय गरिसकेको छ । निर्णयलाई प्रदेश सरकारले १४ ओटै जिल्लाका १ सय ३७ ओटै स्थानीय तहहरुलाई परिपत्र गरिसकेको पनि राज्यमन्त्रि गुरुङले जानकारी दिनुभयो ।

राज्यमन्त्री गुरुङले कोरोनाको कहरका कारण प्रदेश नम्बर १ मा कोही भोकै मर्नुपर्ने अवस्था नआउने बताउनुभयो । कोरोना रोकथामका लागि प्रदेश सरकारसँग पर्याप्त बजेट रहेको र स्थानीय तह मार्फत राहत वितरण गर्नेगरि सबै ठाँउमा बजेट पठाईएको जानकारी दिनुभयो । प्रदेश सरकारले केही दिन अघि गाउँपालिकाहरुलाई ५ लाख र नगरपालिकामा १० लाखका दरले राहत वितरणका लागि बजेट पठाएको छ ।

गृह जिल्ला आईपुग्नु भएका राज्यमन्त्री गुरुङले जिल्ला कमाण्ड पोष्ट मार्फत जिल्लाका स्थानीय तह, अस्पतालहरु र सामाजिक संस्थालाई कोरोना भाईरस संक्रमण रोकथामको सुरक्षाका सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोरोना भाईरस संक्रमणको रोकथामका लागि आवश्यक पर्ने कुनै पनि सामाग्रीहरुको ओखलढुङ्गामा अभाव हुन नदिने राज्यमन्त्रि गुरुङले प्रतिबद्धता जनाउनुभएको छ ।  प्रदेश सरकारले कोरोनाको त्रासका बेला हुन सक्ने गैरकानुनी काम र अनियमितताको निरन्तर अनुगमन गरिरहेकाले त्यसतर्फ सचेत रहन समेत राज्यमिन्त्र गुरुङले अपिल गर्नुभयो ।