नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

प्रोत्साहन स्वरुप प्रहरीलाई मोलुङ गाउँपालिकाले २ लाख दिने

ओखलढुङ्गान्युज, बैशाख १२, २०७७ । ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले कोरोना भाईरसको संक्रमण तथा नियन्त्रणका लागि खटिने गाउँपालिका अन्तर्गतका प्रहरीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । विहिबार बसेको मोलुङ गाउँकार्यपालिकाको बैठकले पालिकाभित्रका प्रहरीलाई प्रोत्साहन स्वरुप चैत र बैशाख महिनाको प्रति महिना १ लाखको दरले जम्मा २ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

कोरोना महामारीको समयमा गाउँपालिका क्षेत्रमा गाउँपालिका क्षेत्र भित्र पर्ने ईलाका प्रहरी कार्यालय रामपुर, अस्थाई प्रहरी चौकी श्रीचौर र गाउँपालिका सुरक्षा प्रहरी विट प्राप्चाको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रोत्साहन स्वरुप २ लाख उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाले सुरक्षाकर्मीहरुको लागि प्रोत्साहन स्वरुप बजेट उपलब्ध गराउने निर्णय गरेसँगै उनीहरुको तहगत आधारमा प्रोत्साहन भत्ताको ब्यबस्था गर्न समेत सम्बन्धित कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसैगरि विहिबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा निर्माण भएको क्वारेन्टाईनको निर्माण तथा व्यबस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिकाका केही कर्मचारी र कार्यालय सहयोगीहरुलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्रका पसल तथा ब्यबसायमा मूल्यसूचि राख्न अनुरोध गर्दै गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङको संयोजकत्वमा अनुगमन समिती निर्माण गरि सुरक्षा निकायहरुको समन्वयमा पसलहरुको अनुगमन गर्ने समेत निर्णय भएको गाउँपालिकाले जनाएको  छ ।