नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गा क्वारेन्टाईनमा रखिएकाको आरडिटी परीक्षण नेगेटिभ

ओखलढुङ्गान्युज, बैशाख , २०७७ ओखलढुङ्गा काठमाण्डौं लगायत विभिन्न स्थानवाट ओखलढुङ्गा आएका १८ जनालाई ओखलढुङ्गाको क्वारेन्टाईनवाट घर पठाईएको छ । जीप रिजर्भ गरेर मंगलबार ओखलढुङ्गा आईपुगेका र मानेभञ्ज्याङ्ग गाउँपालिकाको टोक्सेलवाट नियन्त्रणमा लिईएका १८ जनालाई बुधवार नै आरडिटी परीक्षण गरि घर पठाईएको हो ।

जिप चालक र सहचालक गरि ८ जना जिल्ला प्रशासन कार्यालय भक्तपुरवाट सवारी पास लिएर ओखलढुङ्गा आईपुगेको थिए । टोक्सेलवाट नियन्त्रणमा लिईएका १० जना भने राजधानीबाट २ दिन पैदल यात्रा गरेर जिल्ला आएको बताएका छन् । उनीहरु १० जना नै सिद्धिचरण नगरपालिका वडा नं. ८ सल्लेरीका रहेका छन् । बुधवार विहान उनीहरु सबैलाई नियन्त्रणमा लिएर जिल्ला सदरमुकाम स्थित ओखलढुङ्गा क्याम्पसमा रहेको क्वारेन्टाईनमा राखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारले विहिबार विहान मात्रै आरडिटी परीक्षण गरि उनीहरुलाई थप क्वारेन्टाईनमा नै राख्ने वा होम क्वारेन्टाईनमा रहने गरि पठाउने भन्ने बारेमा निर्णय हुने बताएको थियो । तर सिद्धिचरण नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठको आग्रहमा जिल्ला स्वास्थ्य कार्यालयले क्वारेन्टाईनमा राखिएकाहरुको बुधबार नै अबेर आरडिटी परीक्षण गरेको थियो । क्वारेन्टाईनमा राखिएकाहरुले आफुहरुको प्रारम्भिक परीक्षण गर्न र रिपोर्ट पोजेटिभ आयोभने मात्रै आफुहरु क्वारेन्टाइनमा बस्छौ भनेपछि बुधबार अवेर भएपनि परीक्षण गरिएको थियो ।

जिल्लामा आरडिटी परीक्षणका लागि किट सामाग्री पनि आईपुगेकोले जिल्ला जनस्वास्थ्यसँग समन्वय गरेर बुधवार अबेर उनीहरुको आरडिटी परीक्षण गरिएको सिद्धिचरण नगरपालिकाका नगर प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उनीहरु सबैको आरडिटी परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाईनमा रहेका सबैलाई काउन्सिलिङ गरेर केही दिन होम क्वारेन्टाईनमा नै रहनेगरि पठाईएको पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

आरडिटी परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन एवम् जिल्ला जनस्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । आरडिटी परीक्षण पश्चात घर पठाईएकाहरुमा सिद्धिचरण नगरपालिका वडा नं. ८ सल्लेरीका १० जना, वडा नं. ९ ज्यामिरेका ३ जना, सुनकोशी गाउँपालिका वडा नं. ७ च्यानमका  ३ जना र जिपका चालक तथा सहचालक काभ्रे र रामेछाप जिल्लाका १/१ जना रहेका छन् ।

विहिबारवाट विभिन्न स्थानीय तहसँगको समन्वयमा कोरोना संक्रमणको महामारी पछि जिल्ला भित्रिएकाहरुको आरडिटी परीक्षण सुरुवात गर्न लागेको पनि जिल्ला जनस्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । कोरोना संक्रमणको महामारी पश्चात ओखलढुङ्गा भित्रिनेहरुको सख्या अहिले १ सय ५० नाघेको छ । 

सदरमुकाम स्थित ओखलढुङ्गा क्याम्पसमा रहेको क्वारेन्टाइनमा यसअघि २ जना भारतिय नागरिकलाई राखिएको छ । उनीहरु नेपालीमा राम्रो बोल्न नजान्ने छन् । उनीहरुलाई सुनकोसी गाउँपालिकाको मूलखर्कवाट नियन्त्रणमा लिई जिल्ला सदरमुकाम ल्याई हाल क्वारेन्टाईनमा राखिएको छ ।