नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

‘समन्वय गरेर अघि बढ्नुको विकल्प छैन’ – सांसद यज्ञराज सुनुवार

ओखलढुङ्गान्युज, चैत २८, ओखलढुङ्गा । कोभिड १९ (कोरोना) भाईरसको कारण विश्व समुदाय आतंकित कोरोना विश्वभरि  महामारीको रुपमा फैलँदो यो महामारीबाट नेपाल पनि अछुतो रहेन सरकारले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लकडाउन गरि पहल गरिरहेको देशभरिका स्थानीय तहहरुले आफ्नो अनुकुलतामा क्वारेन्टाईन निर्माण गरेका छन् कतिपयले आईसोलेसन कक्ष निर्माण गरि शंकास्पद बिरामीहरुलाई उपचार गराई रहेका छन् कोभिड १९ (कोरोना) भाईरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि ओखलढुङ्गामा के कस्तो काम भइरहेको ? ओखलढुङ्गा जिल्लाबाट निर्वाचित संघीय प्रतिनिधीसभा सदस्य यज्ञराज सुनुवारसँग कुराकानी गरेका छौं प्रस्तुत सांसद यज्ञराज सुनुवारसँग ओखलढुङ्गान्युज डटकमले गरेको कुराकानीको सारसंक्षेप

विश्व व्यापी रुपमा आतंक फैलिरहेको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि ओखलढुंगामा तपाईँले के पहल गरिरहनु भएको ?

कोरोना भाईरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा लकडाउन हुनु अघि न मैले संघीय तहमा कुरा उठाएको थिएँ । खुला सीमालाई तत्काल नियमन गर्नुपछ, त्यसका लागि सरकारले दुवै छिमेकी मूलुकहरु भारत र चीनसँग वार्ता गर्नुपर्छ, कुटनीतिक पहल गरेर भाईरसको नियन्त्रणमा ख्याल पु¥याउनु पर्छ भनेको थिएँ । केही समय खुला सीमालाई लक गर्नुपर्छ भनेर संसदमा बोलेँ । जिल्लाको सन्दर्भमा कुरा गर्दा लकडाउन पछि जिल्ला प्रशासनसँग समन्वय गरेर सुझावहरु दिएँ । त्यो सुझाव कार्यान्वयन भईरहेको छ । जिल्लामा प्रबेश गर्नेहरुको तथ्यांकसँगै सम्बन्धित गाउँपालिकामा विदेशवाट आएका वा नयाँ मान्छेहरुको तथ्यांक व्यवस्थित गरेर राख्न र २४ सै घण्टा कुन् नाकाबाट कस्ता मान्छेहरु जिल्ला प्रबेश गरेका छन् भनेर प्रहरी र स्थानीय तहलाई अपडेट गर्न सुझाव दिएको छु ।

लकडाउनको शुरुमा जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव कहाली लाग्दो थियो । त्यसलाई कम गर्न मेरो पहलमा जिल्लामा स्वास्थ्य सामाग्री सेटहरुको उपलब्ध गराएको छु । तत्कालका केही समस्याको समाधानको लागि ध्यान दिँदै ओखलढुङ्गामा कोरोना भाईरसको संक्रमण हुन नदिन यथासम्भव प्रयास भएका छन् । लकडाउका कारण विभिन्न स्थानहरुमा रोकिएर, अलपत्र परेका जिल्लाबासीहरुलाई स्वास्थ्य परीक्षण गरि जिल्ला भित्र्याउने र अलपत्र परेकाहरुलाई सम्बन्धित स्थानमा पु¥याउने काम भईरहेको छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मार्फत आएको सुझाव, गुनासालाई सरकार सम्म पु¥याउने काम गरिरहेको छु ।

जिल्लाका केही स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनको अनुगमन गर्नुभएको , कस्तो पाउनुभयो ?

कोरोना भाईरस संक्रमणको लक्षण नेपालमा देखिनासाथ मैले जिल्लाको सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्भव भएसम्मका वडा अध्यक्षहरुसँग हरेक वडाको वस्तुस्थितिको बारेमा जानकारी लिईरहेको छु । स्थानीय तहहरुले आफ्नो स्थानीय श्रोत साधनले भ्याएसम्म सृजनशीलता प्रयोग गरेर काम गरिरहेका छन् । जिल्लाका स्थानीय तहहरुमा क्वारेन्टाईन कक्ष तथा कतिपय स्थानीय तहमा आईसोलेसन कक्षको निर्माण भएका छन्ं । जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक अस्पताल सोब्रुले आईसोलेसन सँगै क्वारेन्टाईन बेड निर्माण गरेको छ । मैले त्यसको अनुगमन गरँे । श्रोत साधनको हिसाबले कतिपय स्थानीय तहमा क्वारेन्टाईनहरु अत्यन्तै उत्कष्ृट बनेका छन् । कतिपय स्थानमा हतारहतारमा निर्माण भएको कारणले क्वारेन्टाईनमा हुनुपर्ने मापदण्डको अभाव देखिन्छ । त्यसलाई ब्यबस्थित गर्ने र मापदण्ड अनुसारको क्वारेन्टाईन निर्माण गर्न सुझाब दिएको छु ।

फिल्डमा जाँदा कतिपय स्वास्थ्य कर्मचारीहरु डराएर सेवा दिईरहेको देखेँ । सुरक्षा सामाग्रीहरुको अभावका विचमा कसरी उपचार गर्ने भनेर मानिसहरु अन्यौलग्रस्त छन् । स्वास्थ्यकर्मीहरुमा पनि अन्यौलता देखेँ । यसलाई हल गर्न जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्वमा जिल्लामा रहेका सबै पालिकाका स्वास्थ्य चौकी प्रमुखहरुलाई बोलाएर स्वास्थ्य सामाग्रीहरुको ठिक ढंगले प्रयोग र फिल्डमा आत्मविश्वासका साथ उपचारमा सरिक हुने वातावरण निर्माण गर्न निर्देशन दिएको छु । ठुलठुला अस्पतालमा सामान्य ज्वरो आउँदा उपचार नहुने अबस्था छ । तर ओखलढुङ्गामा जुन योग्यताको स्वास्थ्यकर्मीहरु हुनुहुन्छ उहाँहरुलाई ढाडस दिने गरि अभिमुखिकरण सञ्चालन गर्ने निर्णय भएको छ ।

यो विषम परिस्थितिमा कालोबजारी भैरहेको भन्ने नागरिकहरुको गुनासो नि ?

यस्तो समयमा नागरिकलाई दिईने सेवा सुबिधा तथा सामाग्रीमा कहिकतै कालोबजारी हुनुहुन्न । अभाव खडा गर्ने, बस्तुहरुमा कालाबजारी गर्ने वा महंगी बढाउने काम कसैले गर्छ भने त्यो मानवता विरोधी काम हो । त्यस्तालाई तत्काल कार्वाही गर्नुपर्छ र हुन्छ । तपाईहरुले देखिरहनु भएको छ, लुकाएर राखेको ठाउँवाट सरकारले लाखौँलाख संख्यामा मास्क जफत गरेको छ । यस्ता कुरामा सरकारले निगरानी बढाउनु पर्दछ । कारबाही प्रकृया अघि बढाउनु पर्दछ, हामीले सरकारलाई भनेका छौं ।

कतिपय स्थानीय तहहरुले कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने स्वास्थ्य सामाग्रीहरु पाएनौ भनि रहेका छन् नि ?

पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) भनेको अस्पतालका स्वास्थ्यकर्मीले संक्रमितहरुको उपचार गर्नका लागि प्रयोग गर्ने अत्यावश्यकिय सामाग्री रहेछ । तर हाम्रा स्वास्थ्य चौकीहरुका कर्मचारीले समेत पीपीई आएन भनेर सामान्य खालका बिरामीका स्वास्थ्य परीक्षण गर्न डराउने परिस्थितिको अन्त्य हुनुपर्छ । त्यसका लागि स्वास्थ्यकर्मीहरुमा आत्मविश्वासको खाँचो देखेको छु । फ्रन्ट लाईनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुको लागि चाहिने स्वास्थ्य सामाग्री जिल्लामा पहिलो लटमा मैले पठाई सकेको छु । तर लकडाउन पश्चात त्यस्ता सामाग्री विदेशवाट समेत सजिलै खरिद गरेर ल्याउन सकिएको छैन । सरकारले विदेशवाट खरिद गरेर ल्याएको सामाग्रीमा केही समस्या देखिएका कारण समस्या झेल्नु परेको छ । आशा गरौं यो समस्या चाडैं हल हुनेछ ।

दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरु लकडाउनका कारण समस्यामा छन् उनीहरुको लागि के गर्नुभएको ?

मजदुर दुई प्रकारको देखिएको छ  । एक शहरमा बस्ने, जो गाउँवाट पेशा व्यबसाय गर्नका लागि शहरहरुमा गएको । जसले श्रम गरेवापत ज्याला नपाएका वा होटल पसल वा अन्य व्यबसाय सञ्चालन गरेको तर अहिले सञ्चालन गर्न नसकेको । दोश्रो मजदुर भनेको जिल्लामा रहेको, जिल्लाका विभिन्न आयोजनाहरुमा काम गर्ने, मेलापात, आफ्नै खेतिपाती गरेर जिविकोपार्जन गर्ने श्रमिकहरुको समस्या छ । सँगै गाउँमा भईकन आफ्नै खेतवारी नभएकाहरुको समस्या छ । श्रमगर्ने ठाउँ नभएका श्रमिकहरुको लिष्ट तयारी गरेर राहत दिने तयारी भईरहेको छ ।

नागरिकको जीवन रहनु पहिलो कुरा भएकोले खाद्यान्न अभावले छटपटाएका मजदुरहरुका लागि सरकारले साद्यान्न वितरणको काम सुरुवात गरेको छ । त्यस्ता श्रमिकहरु विशेषतः शहरमा रहेकोले यस्ता राहत वितरणको काम शहरवाट शुरु भएको छ । राहत कार्यक्रम सञ्चालनका लागि केन्द्र सरकारको निर्णय अनुसार प्रदेश सरकार र स्थानीय सरकारहरुले आवश्यक योगदान गरिरहेका छन् । जो नागरिक जहाँ छ, त्यस वडामा रहेका बास्तविक मजदुरहरुको विवरण संकलन गरि उनीहरुलाई आवश्यक खाद्यान्नको उपलब्धता गराउन स्थानीय तहलाई संघीय सरकारले निर्देशन दिईसकेको छ ।

कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने आवश्यक स्वास्थ्य सामाग्री चीनवाट खरिद गर्ने क्रममा विवादित भयो यसमा तपाईँको धारणा के ?

चीनबाट खरिद गरिएको सामानको विषयमा बजारमा जुन हल्ला छ । सरकारको तर्फवाट भनि सकिएको छ, ‘नागरिकको जीवनलाई सरकारले पैसासँग तुलना नगरेका कारण सामाग्रीहरु ल्याउँदा केही महंगो भयो होला । हामीले ल्याउने तयारी गरेर ल्याउने जिम्मेवारी पनि दियौँ, तर जसलाई सामाग्री ल्याउने जिम्मेवारी दियौं, उसले एक गुणस्तरिय सामान प्रदान गर्न सकेन । दोश्रो त्यो सामाग्री आवश्यक संख्यामा समयमा ल्याउन नसकेका कारण सम्झौता रद्ध गरेको छौं’ भनेर सरकारी अधिकारीहरुले भनिसकेका छन् ।

त्यस काममा भएको कमीकमजोरीमा दोषीले कुनै बहानामा उन्मुक्ति पाउनु हुँदैन । यहि बहानामा विचौलियाहरुले खेल्न सक्दछन् । कृत्रिम अभाव र अनेकौ कुराहरु हुनसक्छन् । महंगी कालोबजारी हुनसक्छ । सरकारलाई असफल बनाउने खेल हुन सक्दछ । त्यसतर्फ सरकाले ध्यान दिनुपर्दछ ।

कोरोनाका कारण जिल्लामा सञ्चालित विकासका योजनाहरु रोकिएका छन् आगामी आर्थिक वर्षका लागि समेत यसले असर गर्ने अवस्था विकास निर्माणको कामलाई निरन्तरता दिन के गर्न सकिएला ?

आगामी आर्थिक वर्षको कुरामात्रै हैन चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका र सञ्चालन हुने क्रममा रहेका कतिपय योजनाहरु बन्द अवस्थामा छन् । यस्तो बेलामा नागरिक तथा सिंगो समाजको मनोविज्ञान विकास पछि गरौँला, तर अहिले बाँच्न पाउँ भन्ने अवस्थामा छ । ओखलढुङ्गामा अप्टिकल फाईबर विच्छ्याउने देखी लिखु एकवार सडक, लिखु हाईड्रोपावरको काम, मोलुङ एकवार सडक, ओखलढुङ्गा रामपुर सडकको कालोपत्रे जस्ता दर्जनौं काम रोकिएका छन् । लकडाउन थपिएको छ । यो ठूलो महामारीमा मूलुक अहिले संघर्षरत छ । महामारीवाट नागरिकलाई जोगाउन सचेत हुनुपर्ने आवश्यकता छ । आशा गरौं,  छिट्टै यो त्रासपूर्ण वातावरणको अन्त्यसँगै विकासको कामहरु अघि बढ्नेछन्  ।

आगामी आर्थिक वर्षको बजेट, योजना, नीति तथा कार्यक्रमको कुरा छ, यस आर्थिक वर्षको हिउँदे अधिबेशन अन्त्य भएको छैन । क्रमशः सरिरहेको छ । यो हिउँदे अधिबेशन कसरी अन्त्य गर्ने ? २५ जना भन्दा बढि एकै ठाउँमा भेला हुनुहुदैन । यस्तो विषम परिस्थितिमा सरकारले द्रुतमार्गको प्रयोग गरि समाधान खोज्दै अघि बढ्नुपर्ने परिस्थिति देख्छु ।

तिनै तहका सरकारका बीच आवश्यक समन्वय हुन सकेन भन्ने कुरा कत्तिको साँचो हो ?

एउटै जिल्लाका स्थानीय तहले आ–आफ्नै तरिकाले काम गर्दा एक स्थानीय तहको असर अर्कोलाई परेको देखेको छु । त्यसले समरुपता ल्याउँदैन । त्यसैले यतिवेला बढी लोकतान्त्रिक भएर संरचनाहरु निर्माण गर्दा बहुरुपता ल्याएको छ । यो संक्रमण रोक्नका लागि नागरिकहरुको आवश्यकता र अपेक्षा एकातिर छ । तहगत संरचनाले स्थानीय तहलाई अर्कोतिर समस्यामा पारको छ । त्यसैले यो कुरालाई समन्वय गर्दै कम्तीमा ओखलढुङ्गाको आठओटै स्थानीय तहहरुले एकआपसमा समन्वय गरेर सकारात्मक कामको सिको गर्दै अनुभव आदान प्रदान गरेमा त्यसले एकआपस बीचको अन्तरसम्बन्धलाई सुदृढ गराउँछ ।

अन्त्यमा पाठकहरुलाई केही भन्न चाहनुहुन्छ की ?

ओखलढुङ्गामा कोरोना भाईरस संक्रमणको नियन्त्रण र रोकथामका लागि नागरिक स्तरमा सचेतना र सावधानी अपनाईएको छ । यो अत्यन्तै सह्राहनीय छ । कुनै स्थानीय तहमा नयाँ मान्छेको आगमन भयो भने तुरुन्त नागरिकहरुले जिल्ला प्रशासन कार्यालयमा ती नयाँ मान्छेको बारेमा जानकारी गराई ती मान्छेको चेकजाँच गर्नुप¥यो भनेर टोल छिमेकले काम गरेको पाएँ । त्यो सकारात्मक पाटो हो ।

विदेशमा रहेका केही नेपालीहरुले ज्यान गुमाउनु परेको छ । अन्तराष्ट्रिय घटनावाट नेपालीले पाठ सिकेका छन् । कम्तीमा नेपालमै नेपालीले ज्यान गुमाउनु परेको छैन । यो नेपालीको सचेतनाको उपलब्धी हो । विषम परिस्थितिमा राज्यको आव्हानलाई यो मेरो लागि हो, भनेर घरमै बसेर लकडाउनलाई साथ दिईरहनु भएको छ । उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नागरिकहरुको जिवन रक्षाका लागि अग्रदस्तामा रहेर कोरोना भाईरसको संक्रमण हुन नदिन खटिरहनुभएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी प्रति आभारी छौँ । प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधीहरु ज–जसले कोरोना संक्रमण नियन्त्रणका लागि योगदान दिनुभएको छ, जिल्लाको जिम्मेवार जनप्रतिनिधी हुनुको नाताले सबैलाई धन्यवाद ब्यक्त गर्दछु । सञ्चारकर्मीहरुलाई पनि धन्यवाद दिन चाहन्छु । विश्वमा जुन प्रकारको कहाली लाग्दो परिस्थिति देखा परिरहेको छ, यसबाट नेपालीहरुलाई, जिल्लाबासीहरुलाई एवम् सम्पूर्ण मानवजातिलाई जोगाउन सञ्चारजगतले खेलेको रचनात्मक, सृजनात्मक भूमिका प्रशंसनीय छ ।