कोरोना भाईरस संक्रमण नियन्त्रणको लागि ओखलढुङ्गामा सामान आईपुग्यो
ओखलढुङ्गान्युज, चैत २१ ओखलढुङ्गा । ओखलढुङ्गामा प्रदेश नं १ विराटनगरबाट कोरोना भाईरसको संक्रमण नियन्त्रणमा प्रयोग हुने सामाग्री आई पुगेको छ । प्रदेश सरकारवाट जिल्ला अस्पताल रुम्जाटार र जिल्ला स्वास्थ्य कार्याय रुम्जाटारको नाममा सामाग्री प्राप्त भएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रदेश सरकारवाट गत १९ गते ओखलढुङ्गाका लागि २६ सेट पीपीई, माक्स १ हजार थान, चस्मा 9 थान, एन ९५ मास्क १० सेट, ग्लोभ्स ८ सय थान र सेनितराइज ३१ बोत्तल प्राप्त भएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।
यी सामाग्रीहरु जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयको नाममा आएको भएपनि जिल्ला अस्पताल रुम्जाटारको नाममा आएको पीपीई गाउन १० सेट, एन ९५ मास्क १० सेट, चस्मा ९ थान, मास्क २ सय थान र १५ बोत्तल सेनिटाईजर अस्पताललाई नै हस्तान्तरण गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको नाममा प्राप्त हुन आएको सामाग्रीहरु मध्ये पीपीई ४ सेट, ग्लोभ्स२ सय थान, मास्क २ सय थान र सेनिटाईजर ४ बोत्तल सामुदायीक अस्पताल सोब्रुलाई हस्तान्तरण गरिएको छ । त्यस्तै २ सेट पीपीई, ग्लोभ्स १ सय थान, मास्क १ सय थान र सेनिटाईजर २ बोत्तल सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
सामुदयीक अस्पतालको आईसोलेसनमा २ जना र नगरपालिकाको क्वारेन्टाईनमा ७ जनालाई राखिएको हुदा यी दुई स्थानामा सामाग्री उपलब्ध गराईएको कमाण्ड पोष्टले जनाएको छ । बाकी रहेका सामाग्रीहरुलाई मौज्दातको रुपमा राखी आवश्यकता परेको बखत जिल्लाका जुनसुकै स्थानीय तह वा अस्पताललाई उपलब्ध गराउने चैत २० गते बसेको कमाण्ड पोष्टको बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।