सुनकोशी गाउँपालिकामा ५५ बेडको क्वारेन्टाईन, क्वारेन्टाइनमा बस्ने एकजना
ओखलढुङ्गान्युज, चैत २० मूलखर्क । सुनकोशी गाउँपालिकाले एकजनालाई क्वारेन्टाईनमा राखेको छ । कोरोना संक्रमणको महामारी फैलदै गएको बेला खाडी मुलुकवाट आएका एकजनालाई क्वारेन्टाईनमा राखेको सुनकोशी गाउँपालिकाको कार्यालय मूलखर्कले जनाएको छ ।
विदेशवाट आएकाहरुमा भाईरसको संक्रमण हुन सक्ने र त्यसवाट अरु नागरिकहरुलाई नसरोस भनेर सचेत गराउने उद्धेश्यले सुनकोशी गाउँपालिकाले ५५ बेडको क्वारेन्टाईन तयारी गरेको छ । गाउँपालिकाले तयारी गरेको ५५ बेडको मध्ये ४६ बेडमा चाही तत्कालै प्रयोग गर्न सकिने गरि तयारी भएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो । बाकीलाई पनि आवश्यक सामाग्री संकलन गर्दै गरेको प्रमुख प्रशासकिय अधिकृत कार्कीको भनाई छ ।
गाउँपालिकाले पालिका भरिका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा ९ सय थान मास्कको वितरण गरेको छ पनि आपत्कालीन अवस्थाको भन्दै ६ सय थान पालिकाको स्वास्थ्य शाखामा मौज्दातको रुपमा राखेको छ । गाउँपालिकामा ८ थान पीपीई रहेकोमा गाउँपालिकाका स्वास्थ्य युनिट वाहेक सबै स्वास्थ्य चौकीहरुमा एकएक सेट उपलब्ध गराएको पनि गाउँपालिकाले जनाएको छ ।
कोरोना भाईरसको संक्रमणको रोकथामका लागि सबै स्वास्थ्य कर्मीहरुलाई नियमित रुपमा खटाईएको भएपनि संकास्पद विमारीहरुको शरीरको तापक्रम जाँच गर्ने मेशिन थर्मलगन नहुदा स्वास्थ्यकर्मीहरुले अप्ठ्यारो महशुस गरेकोले त्यसको लागि समेत पहल भैरहेको प्रमुख प्रशासकिय अधिकृत कार्कीले बताउनुभयो ।
कोरोना भाईरस संक्रमण हुन नदिनका लागि आवश्यक तयारी स्वरुप चाहीने सामाग्रीको संकलन गरिरहेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिनुभयो । आफ्नो स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि काठमाण्डौं गएको र आफु उपचारको क्रममा हनुका साथै लकडाउमा समेत परेकोले आफु पालिका फर्कनमा ढिलाई भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
आफु काठमाण्डौंमा रहेपनि गाउँपालिकाका सबै टिमसग नियमित सम्पर्कमा रहेर समन्वय गर्नुका साथै निर्देशन दिईरहेको अधिकारीको भनाई छ । विहिबार शुक्रबार सम्म आफु गाउँपालिका आईपुगेर कार्यपालिकाको बैठक बसी कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रोत्साहनको कार्यक्रम ल्याईने पनि गाउँपालिका प्रमुख अधिकारीले बताउनुभयो ।