नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मानेभञ्ज्याङ्ग गाउँपालिकाले स्वास्थ्यकर्मीलाई एक महिनाको प्रोत्साहन भत्ता दिने

ओखलढुङ्गान्युज, चैत १८ मानेभञ्ज्याङ्ग कोरोना भाईरस संक्रमणको रोकथामका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई मानेभञ्ज्याङ्ग गाउँपालिकाले प्रोत्साहन भत्ता दिने भएको छ । केहिदिन अगाडी बसेको मानेभञ्ज्याङ्ग गाउँपालिकाको कार्यपालिकाको बैठकले उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई एक महिनाको तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकले दैनिक रुपमा उपचारमा खटिने र थप सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई खाना खाजा वापत दैनिक रु ५ सय पनि उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष सविता राईले जानकारी दिनुभयो । विश्वमा कोरोना भाईरसको महामारीको सन्त्रास फैलिरहेका  स्वास्थ्यकर्मीहरुको मनोबललाई बनाउने उद्धेश्य सहित पालिकाले उक्त निर्णय गरेको उपाध्यक्ष राईले बताउनुभयो ।

मानेभञ्ज्याङ्ग गाउँपालिकामा शोमबारसम्म खाडी मुलुक लगायत भारतवाट समेत ३५ जना भित्रिएका छन् । गाउँपालिकाले मानेभञ्ज्याङ्गको पालिका मुकाममा नै ११ बेडको र हर्कपुरमा ६ बेडको क्वारेन्टाईन कक्ष निर्माण गरि सकेको छ । संभावित संक्रमितहरुलाई लक्षित गरेर गाउँपालिका मुकामको क्वारेन्टाईनलाई २४ बेडमा र हर्कपुरको क्वारेन्टाईनलाई १० बेडमा विस्तार गर्ने गरि तयारी भैरहेको गाउँपालिकाका सूचना अधिकारी रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

मानेभञ्ज्याङ्ग गाउँपालिका ओखलढुङ्गा मात्रै नभएर सोलुखुम्बु र खोटाङ जिल्ला प्रवेश गर्ने मुख्य नाका पनि हो । हाल मानेभञ्ज्याङ्ग गाउँपालिकामा सुरक्षाका साधन पीपीई सेट ७ थान रहेको छ । ती मध्ये ५ थान विभिन्न स्वास्थ्य शाखामा तथा १ थान मानेभञ्ज्याङ्ग पालिका मुकामको क्वारेन्टाईन र १ थान हर्कपुरको हेल्थ डेस्कमा राखिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिनुभयो ।

मानेभञ्ज्याङ्ग गाउँपालिकाले ७० थान सेनेटराईज र १ हजार थान मास्क गाउँपालिकाका वडा तथा वडामा रहेको स्वास्थ्य संस्थाहरुमा वितरण गरि सकेको छ । तिन जिल्लामा प्रबेश गर्ने मुख्यद्वार समेत रहेको यस पालिकामा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य चेकजाँच गर्ने क्रममा अलिक असहज मानेको भन्दै स्वास्थ्यकर्मीहरुको लागि थप ३० थान पीपीई सेटलाई उपलब्ध गराउने तयारी गरेको छ ।