नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

कोरोना रोकथाम कोषमा ओखलढुङ्गाका दुई गाउँपालिका अध्यक्षको सहयोग घोषणा

ओखलढुङ्गान्युज, चैत १३ ओखलढुङ्गा कोरोना रोकथाम कोषमा ओखलढुङ्गाका दुईओटा स्थानीय तहका प्रमुखहरुले सहयोग घोषणा गरेका छन् । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले कोरोना रोकथाम कोषमा सहयोगको घोषणा गर्नुभएको हो ।

दुवै गाउँपालिकाका अध्यक्षहरुले सामाजिक सञ्जाल मार्फत आफुहरुले पाउने एक महिना बराबरको सेवा सुबिधाको रकम कोरोना रोकथामको कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । पछिल्लो समय कोरोना रोकथामका लागि सरकारी कोषमा जनप्रतिनिधीहरुले सहयोग गर्ने घोषणामा बृद्धि भएको छ ।

केही समय अगाडी मात्रै ओखलढुङ्गावाट निर्वाचित संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले पनि एकमहिनाको आफ्नो सुबिधा कोरोना रोकथामको कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको थियो । त्यस्तै जिल्ला युवा समितिका अध्यक्ष सुधिर कुमार कार्कीले पनि आफ्नो एक महिनाको सेवा सुबिधा कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

केहिदिन अगाडी दक्षिण एशियाली राष्ट्रहरुको साझा संगठन सार्कका सरकार प्रमुखहरुका विचमा भएको भिडियो कन्फरेन्स बैठकले कोरोना बिरुद्ध लड्नका लागि कोष खडा गर्ने निर्णय गरेको थियो । त्यही क्रममा नेपालले पनि प्रतिबद्धता जाहेर गरको छ ।