नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोरोना भाईरसको आतंक, मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

ओखलढुंगान्युज, फागुन ७, काठमाण्डौं ।  पछिल्लो जानकारी अनुसार चीनमा देखिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीन भन्दा बाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार पाँच पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गईरहेको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एकएक जनाको ज्यान गएको छ ।

वितेको २४ घण्टामा मात्र एक सय ३२ जनाले ज्यान गुमाएको चीनीया समाचार संस्थाहरुले जनाएका छन् । केही दिनदेखि ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि मङ्गलबार ज्यान गुमाउनेको सङ्ख्या आकश्मिक रुपमा फेरि बढेको हो । यसैबीच चीनको सेन्टर फर् डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनअनुसार सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा धेरै बिरामी तथा वृद्धवृद्धा रहेको देखाएको छ । अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ ।

अध्ययनमा धेरैजसो सङ्क्रमित मानिसमा मध्यमस्तरको सङ्क्रमण भएको पाइएको पनि बीबीसीले जनाएको छ । यस्तै कोरोना भाइरसलाई लिएर संयम रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । भाइरसको धेरैजसो पीडितमा हलुका खालको सङ्क्रमण देखिएको भन्दै विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई संयम रहन आग्रह गरेको हो ।