नेपाली समय Loading...२०७७ असार २२ सोमबार

मिसन अस्पताल बेड नं. २१६ ः म त के सम्झन्थे, सम्झन पनि नपरोस् !

विएन श्रेष्ठ, माघ २३ ओखलढुङ्गा । पछिल्लो समय पूर्वाञ्चल कै उत्कृष्ट उपचार हुने अस्पतालको सूचिमा रहेको सामुदायीक अस्पताल सोब्रुमा सेवाग्राही नागरिकहरुको गुनासो बढ्दै गएको छ । गुनासोका बारेमा प्रमुख जिल्ला अधिकारी समक्ष र जिल्लामा कृयाशिल पत्रकार समक्ष नागरिकहरुले आफ्नो समस्या सुनाउदै थिए । तर पत्रकारहरुले यो सामान्य नै होला भन्ने बुझेका थिए । यद्यपी मिसनको पछिल्लो अवस्थाका बारेमा भने केही तथ्यांक संकलनका लागि भने अग्रसर भएका थिए ।

जिल्लामा नागरिक समाजका संस्था र कृयाशिल पत्रकारहरुको साझा संस्था जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गा कृयाशिल रहेको छ । जहाँ जिल्लामा रहेको विभिन्न पैरवीका विषयहरुमा छलफल हुनुका साथै समाधानका लागि सम्बन्धित निकाय समक्ष पुगेर ध्यानाकर्षणका साथै आवश्यक छलफल हुन्छ । सञ्जालको नियमित बैठक बस्ने क्रममा पौषको तेश्रो हप्ता पौष १९ गते यहाँपनि सामुदायीक अस्पतालको केही लापरबाहीका बारेमा विषयले प्रबेश पायो । सम्बन्धित निकायसँग आवश्यक छलफल तथा समस्याका समाधानका लागि आवश्यक पहलका लागि भन्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति सभापति जय बहादुर श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझायो ।

प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति प्रमुखको ध्यानाकर्षण गराएको एक महिना नवित्दै अस्पतालमा माघ ५ गते अस्पतालका कर्मचारीको लापरबाहिले अर्को घटना घटेको सूचना आयो । सञ्जालका सदस्यहरुको अनौपचारीक छलफलले पनि मिडियाहरुले जसरी पनि यस्ता विषयलाई बाहिर ल्याउनुपर्ने सबैको एकमत रह्यो । र सञ्चारकर्मीहरुको ध्यान पनि यो घटना सगै सामुदायीक अस्पताल तर्फ सोझियो ।

माघ ७ गतेका दिन । सामुदायीक अस्पताल बाहिर विभिन्न प्रकारका विरामीहरु आवतजावत गरिरहेका थिए । कतिपय सुत्केरी आमाहरु र तिनका स्याहारका लागि आएकाहरुले घाममा नवजात शिशुलाई घाम तपाएर तेल लगाईरहेका थिए । उनीहरुमा आ–आफ्नै खुशी थियो । भित्र विरामी बेड नम्बर २१६ मा भने सोलु घर भएकी कमला बस्नेत कार्की भने मस्त निदाईरहेकी थिईन् । उनका श्रीमान पेशल कुमार कार्की भने बाहिर बच्चालाई घाममा तताएर तेल लगाईरहेका आमाहरुको समूहलाई हेर्दै टोलाईरहेका थिए । सायद उनको मनमा पनि ठुला–ठूला सपनाले घर गरेको थियो ।

नगरोस पनि कसरी ? उनी पनि आफ्नो सन्तानको बाबु बन्ने ठूलो खुशीका साथ गर्भवती श्रीमती लिएर पुष १८ गते सामुदायीक अस्पताल सोब्रु आएका थिए । डक्टरले समयको हिसाब गरि पुष २२ गते उनीहरु बाबुआमा बन्ने मिति तोकेका थिए । तर….. । तर त्यो खुशी सपनामा नै सिमित भयो यसपटक । पेशल सग हामीले सामान्य कुरा गर्यौ । उनको मन सम्हाली सकिएको थिएन । उनी केही भन्न सकिरहेका थिएनन् । हामीले उनको श्रीमतीको अवस्थाका बारेमा सामान्य सोधपुछ गर्यौ । अस्पतालको अन्य वेडको अवस्था पनि अवलोकन गर्यौ र फर्कियौं । हाम्रो पनि मन थियो । मनमनमा नमिठो अनुभव ।

माघ ८ गतेका दिन । हामी फेरी त्यसको भोलिपल्ट अस्पताल पुग्यौं । आज भने पेशल अस्पताल बाहिर आफ्नी श्रीमतीलाई हात समातेर यताउता डोर्याउदै गरेका भेटिए । दुवैको अनुहार मलिन थियो । यो बेला खुशी र उमङ्गमा रहनुपर्ने बेलामा निरासताले छाएको थियो । यो पटकको खुशीलाई दुख र पिडाले थिचिएको थियो । उनीहरुको सपना चकनाचुर भएको थियो । जसको दोषी अस्पताल हो भन्ने उनीहरुलाई लागि रहेको थियो ।

के भयो ?

पेशल र कमलाले विहे गरेको माघ ४ गते शनिवार मात्रै एकवर्ष पुगेको थियो । एकवर्ष पुग्दै गर्दा उनीहरुमा थप खुशी थपिने आस थियो । आमा पनि आफ्ना काखमा साना नातिनातिना खेलाउने रहरका साथ अघिल्लो हप्तामा नै अस्पताल आईपुगेकी थिईन् । तर माघ ५ गते आईतवार विहान कमलाको पेटमा रहेको बच्चाको धड्कन अचानक रोकियो । बच्चा पेटमा चल्न छाडेपछि उनीहरुले नजिकै रहेका चिकित्सकहरुलाई खबर गरे । चिकित्सक आएपछि बच्चाको धड्कन नपाएपछि हतारहतार डक्टरलाई खबर गरे । उज्यालो नहुदै डक्टर आए र परिक्षण गरे । उनले पनि बच्चाको धड्कन भेटेनन् र बच्चा अब जिवित नरहेको बताए ।

अघिल्लो साँझ सम्म सकुसल रहेको बच्चाको अबस्था विहान नहुदै धड्कन रोकिएको र बच्चा जिवित नरहेको डक्टरको भनाईले उनीहरुको जिवनमा भूईचालो गयो । त्यसपछि उनीहरुले अस्पतालमा आक्रोशसँगै आँसुलाई पोखे । चिकित्सककै निगरानीमा रहेको गर्भवतीको कोखमा नै बच्चाको ज्यान गयो । जसको कारण समेत डक्टरले उनीहरुलाई दिन सकेन । उनीहरुको जिवनमा विवाह गरेको एकवर्ष पुगेको भालिपल्ट नै दुःखद घटना घट्यो ।

पेशल मालपोत कार्यालय सोलुखुम्बुका कम्प्युटर अपरेटर हुन भने उनकी श्रीमती कमला काठमाण्डौं नै बसेर स्नात्तकोत्तर तहमा अध्ययनरत थिईन् । पेटभित्र नै बच्चाको ज्यान गएपछि डक्टरले शल्यक्रिया गरेर निकाले । उक्त मृत शिशुलाई उनीहरुले अन्तिम संस्कार गरे र आफ्नी आमालाई सम्झाएर सोलु घर तर्फ पठाए ।

कमला आफ्नो अध्ययनसगै काठमाडौंमा बस्थिन । त्यही बसेर उनीले त्यहीँको शिक्षण अस्पतालमा नियमित गर्भ परीक्षण पनि गराइरहेकी थिइन् । पेटमा बच्चाको अवस्था सामान्य रहेको अस्पतालले बताएको थियो । अस्पतालले माघ २२ गते कमलाको बच्चा जन्मिने मिति तोकिदिएको थियो ।

सुत्केरी हुने मिति नजिकिँदै गर्दा सामुदायीक अस्पताल (मिसन) ओखलढुङ्गामा प्रसूति सुविधा राम्रो रहेको सुनेपछि पेशलले उनलाई त्यहीँ बोलाए । कमला घर आईन र उनीहरू पहिले सोलुखुम्बुको फाप्लुस्थित जिल्ला अस्पताल गए । फाप्लुले मिसन अस्पतालमा नै रेफर गरेपछि उनीहरू पुस १८ गते त्यहाँ पुगे ।

१८ गते नै अस्पतालमा कमलाको गर्भ जाँचपछि उनीहरूलाई प्रसुति सेवाका लागि प्रतीक्षामा बस्ने ‘एनआरसी’ शाखामा बस्न भनियो । एनआरसीमा नियमित परीक्षण हुने भएकाले बच्चा र आमा दुवैलाई जोखिम कम हुने बताइयो । उनीहरू एनआरसीमै बसे । बच्चा जन्मने मिति त पुग्यो तर कमलालाई व्यथा लागेन । बच्चा जन्मने मिति दिएको सात दिनपछि अर्थात पुष २९ गते चिकित्सकले औषधी चलाउने जानकारी दिए । २९ गते बेलुकीदेखि व्यथा लाग्ने औषधि खुवाइयो । प्रत्येक दुई–दुई घण्टामा कमलालाई यस्तो औषधि खुवाइन्थ्यो । तर दुई दिनसम्म पनि कमलामा प्रसूतिको कुनै लक्षण देखिएन । तेस्रो दिन अर्थात माघ २ गते चिकित्सकले पाठेघरको मुखमा पाइप राख्नुपर्ने बताए ।

पाइप राख्दा पीडाका साथै रक्तस्राव हुन्छ भन्ने सुनेकाले पेशलले पाइप नराख्ने बरु शल्यक्रिया गरिदिन अनुरोध गरे । तर चिकित्सकले पाइप नराख्ने भए उपचार नगर्ने धम्की दिए । त्यसपछि पेशलले कमलालाई हेलिकप्टरबाटै भए पनि राजधानी लाने योजनाका स डिस्चार्ज पेपर दिन अनुरोध गरे । तर अस्पतालले डिस्चार्ज र रेफर पेपर दिएन । पाइप राख्नबाध्य बनायो ।

पेशललाई प्रसूति कक्षमा लगेर विरामीलाई पाइप राखिएको छ । केही घण्टामा त्यो पाईप झर्ने र झरेपछि अरु प्रकृयाको थालनी गर्ने जानकारी गराईयो । भोलिपल्ट चिकित्सकको टोली राउन्डिङमा आएर पाइप झर्यो भनेर सोधे । तर त्यतिखेर अस्पतालकै नर्सले कमलालाई पाइप नराखिएको बताइन् । लगत्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड रहेका डा। जोन प्याजेटले फेरि उनलाई प्रसूति कक्षमै लगे । अनि उनको पाठेघरको मुखमा पाइप राखिदिए । पाइप बेलुकी सात बजेतिर झर्यो । उनीहरूले जानकारी गराए । बच्चा र आमाको धड्कन परिक्षण गर्दा ठिकै रहेको बताए ।

स्वास्थ्यकर्मीहरुले जाँच गरेरगएपछि कमलाको पेट फुल्दै आयो । उनलाई पेटमा धेरै दुखेको महसुस भयो । पीडाले गर्दा राति दुई बजेसम्म निदाउन सकिनन् । स्वास्थकर्मीहरुलाई दुखाईको बारेमा बताए । उनीहरुले पनि दुखाई हुन्छ भने । दुई बजेपछि पीडा केही कम भएजस्तो भयो र कमला निदाइन् । निदाउनु अघिसम्म उनको पेटमा बच्चा चलेको थाहा थियो । बिहानपख ब्युँझिँदा पेटमा बच्चा चलेको थाहा पाइनन् । त्यसपछि नर्सहरूलाई बोलाइयो । बच्चाको धड्कन जाँच्न खोज्दा भेटिएन ।

चिकित्सकको त्यो खबरले बच्चाको बाबु हुने आशामा रहेका पेशल एकैपटक आवेशमा आए । उनले चिकित्सक र नर्सहरूमाथि आक्रोश पोखे । तर उनलाई उल्टै चुप लाग्न निर्देशन दिइयो । अस्पतालका सुरक्षा गार्ड बोलाएर धम्क्याइयो । पेशल भन्छन्, ‘दशा लागेर यो अस्पतालमा आएछु, अन्तै लैजान्छु भन्दा अस्पतालले डिसचार्ज दिएन। जीवनमा पहिलो पटक मेरो आफ्नो कोही रहेनछन् भन्ने महसुस गरेर रोएँ ।’ शल्यक्रिया पश्चात विरामीलाई वेड नं. २१६ मा राखियो । पेशल भन्छन्, ‘सामुदायीक अस्पताल (मिसन) सोब्रु ! त्यसमाथि बेड नम्बर २१६ । सम्झनु पनि नपरोस् ।’

६ महिनायता मिसन अस्पतालमा ल्याएपछि गर्भवतीलाई प्रत्यक्ष निगरानीमा राख्दा पनि गर्भमै शिशुको मृत्यु भएका तीनवटा घटना सार्वजनिक भइसकेका छन् । यो क्रम बढ्दो छ । तर यी घटनामा बच्चाको मृत्यु कसरी भयो भनेर मृत्यु हुनुको कारण चिकित्सकले खुलाएका छैनन् । पेटमै बच्चाको मृत्यु भएपछि कमलालाई साधारण अवस्थामै मृत बच्चा जन्माउनका लागि व्यथा लाग्ने औषधि चलाए । औषधिले दुई घण्टासम्म काम नगरेपछि उनले बरु आफू मर्न तयार रहेको भन्दै शल्यक्रिया गर्न अनुरोध गरिन् ।

शल्यक्रिया गरेर मृत शिशु निकालेपछि डा। जोनले ओल्टाईपल्टाई हेरे । शिशुमा मृत्यु हुनुपर्ने कुनै कारण नदेखेको पेशललाई बताए । पेशलको मन झन् कुँडियो । ‘बच्चाको सालनाल छोटो भएको, दिसा खाएको, नाल थिचिएको, अन्य समस्या भएको केही देखिएन,’ जोन प्याजेट भन्छन्, ‘के कारणले मृत्यु भयो हामीले पनि भन्न सक्ने अवस्थामा छैनौं । प्रसूति आफैमा जोखिमपूर्ण अवस्था हो । यस्तो बेलामा कहिलेकाहीँ यस्ता घट्ना घट्छन् ।’

मिसन अस्पतालमा आउने धेरै बिरामी र आफन्तहरूले स्वास्थ्यकर्मीको दुर्व्यवहार पनि भोग्ने गरेका छन् । अधिकांश बिरामीका आफन्तले आफ्नो बिरामीको अवस्थाबारे समयमा बुझ्न खोज्दा र बोलाउँदा उनीहरूलाई सरल जवाफ दिइँदैन । प्रसूतिका लागि आउने आमाहरू पीडाले छटपटाउँदा उल्टै अपशब्दसहित पिट्नेसम्म गरेको एक पीडित महिलाले बताइन् । उनीहरुलाई अस्पतालले के कस्तो औषधी प्रयोग गर्यो भन्ने बारेमा समेत जानकारी दिईदैन । अस्पतालका निर्देशक युवराज आचार्यले आफूले अस्पतालका कर्मचारीहरूले गर्ने व्यवहारको पाटो अनुगमन गरिरहेको र चाडै आवश्यक सुधार गर्ने बताए ।