नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

फाल्गुन पहिलो हप्ता पात्लेमा तेश्रो उन्जेलामा स्मृती ल्होसारकप खेलकुद प्रतियोगिता

विवेश श्रेष्ठ, माघ १७ ओखलढुङ्गा । ओखलढुङ्गामा शेर्पा समुदायले मनाउने ल्होसारको अवसरमा उन्जेलामा स्मृती ल्होसार कप खेलकुद प्रतियोगिता हुने भएको छ । खिजिदेम्बा गाउँपालिकाको वडा नं. ९ पात्लेको शिवालय माद्यमिक विद्यालयमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको हो । उन्जेलामा स्मृति प्रतिष्ठानको आयोजनामा ल्होसारको अबसर पारेर तेश्रो उन्जेलामा स्मृतिकप २०७६ को आयोजना गरिएको हो ।

मूसा वर्ष २०७६ को अवसरमा उन्जेलामा स्मृति प्रतिष्ठानको आयोजनामा फागुन ५ देखी १३ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता वडा नं. ९ पात्लेमा रहेको सबै सामुदायीक विद्यालयहरुमा सञ्चालन हुनेछन् । विहिवार ओखलढुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाका व्यबस्थापक लाक्पा गेल्जे शेर्पाले प्रतियोगितालाई महोत्सवको रुपमा पात्लेका चारओटै सामुदायीक विद्यालयमा फरक–फरक दिन फरक–फरक प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिनुभयो ।

संस्कृतिको संरक्षण, पूर्खाको विरासतको रक्षा गर्दै ‘नेपाल भ्रमण बर्ष २०२०’ सफल पारौं’ भन्ने नाराका साथ तेस्रो उन्जेलामा स्मृती लोसारकप २०७६ तथा विविध कार्यक्रमको आयोजना गरिएको उन्जेलामा स्मृती प्रतिष्ठानले जनाएको छ । ग्याल्पो ल्होेसारको शुभकामना आदनप्रदान गर्दै युवाहरुलाई खेल क्षेत्रमा आकर्षण बढाउने हेतुले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

व्यबस्थापक शेर्पाका अनुसार हाजिरी जवाफ प्रतियोगिता महादेव आधारभूत विद्यालयमा सञ्चालन हुनेछ । त्यस्तै बक्तृत्वकला प्रतियोगिता जनता आधारभूत विद्यालय दोराखर्क तथा आधारभूत तह स्तरीय शिक्षकहरुको वादविवाद प्रतियोगिता पिके फाप्रे आधारभूत विद्यालयमा सञ्चालन हुनेछ । प्रतियोगिताका अन्य स्पर्धाहरु भने शिवालय माद्यमिक विद्यालयमा सञ्चालन हुने पनि व्यबस्थापक शेर्पाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

वि.सं. २०७० सालमा गठन भएको यस प्रतिष्ठानले प्रथम उन्जेलामा स्मृती कप २०७१ मा र दोस्रो २०७५ मा सम्पन्न गरेको थियो । तेश्रो उन्जेलामा स्मृती ल्होसार कप २०७६ भने फागुनको पहिलो हप्तामा सञ्चालन गर्न लागिएको हो । तेश्रो उन्जेलामा स्मृती ल्होसार कपमा पालिका स्तरीय भलिवल प्रतियोगिता, खुला मिनी म्याराथुन, आधारभूत विद्यालय स्तरीय हाजिरी जवाफ, माद्यमिक विद्यालय स्तरीय बक्तृत्वकला, प्राथमिक विद्यालय स्तरीय शिक्षकहरुको वादविवाद प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा जानकारी गराईए अनुसार पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताका विजयी टिमले शिल्ड, मेडल, प्रमाण–पत्रका साथमा क्रमशः विजेताले नगद रु. ५५ हजार ५ सय ५५, उपविजेताले नगद रु. ३३ हजार ३ सय ३३ र सान्त्वनाले नगद रु. ११ हजार १ सय ११ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ठ र अनुशासितलाई जगद रु. ३ हजार ३ सय ३३ प्रदान गरिने जनाईएको छ ।

त्यस्तै खुल्ला मिनि म्याराथुन प्रतियोगितामा विजयी हुन विजेताले नगद रु. ११ हजार १ सय ११ र उपविजेताले नगद रु ५ हजार ५ सय ५५ का साथ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  खुल्ला मिनी म्याराथुनमा नेपाली सेना र प्रहरीमा कार्यरत साथै मधुमेह, श्वासप्रश्वास र मुटु सम्वन्धि रोग भएकाहरुलाई सहभागि नगराईने पनि पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

स्थानीय महोत्सव कै रुपमा सञ्चालन हुने अन्य विभिन्न प्रतियोगिताका विजयीहलाई पनि नगद सहित प्रमाणपत्रको ब्यबस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका सुरुवात फाल्गुन ५ गतेवाट हुने भएपनि ९ गते प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्रि अम्बिरबाब गुरुङले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगिताको समापन भने फागुन १२ गते चिवा ल्हो ल्होसारको अवसरमा टुल्कु ङावाङ थार्चिन रिन्पोछेबाट छेवाङ (अभिषेक) प्रदान गर्दै समापन गरिने आयोजकले जनाएको छ ।