नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आज विद्याकी देवी मानिने सरस्वतीको पुजा

ओखलढुङ्गान्युज, माघ १६ ओखलढुङ्गा । आज वशन्त पञ्चमी । अर्थात विद्याकी देवी सरस्वतीको पूजा गर्ने दिन । यो प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने गरिन्छ । ऋतुहरुको राजाको रुपमा लिईने  वसन्त ऋतुको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाण्डौंको वसन्तपुरमा गएर वसन्तश्रवण गर्ने परम्परा रहिआएको छ ।

किंबदन्त अनुसार एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदा भन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास रहि आएको छ । सरस्वती पूजाको दिन सानासाना बालबालिकालाई अक्षरारम्भ गराइन्छ ।

सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा विणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागेश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन् । विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पुजा आराधना गर्ने गरिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङगिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सदबुद्धि प्राप्त हुने भएकाले सरस्वतीको पूजाको ठूला महत्व उल्लेख छ। यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ । सरस्वती पूजाको दिन ओखलढुङ्गाका प्राय सबै विद्यालयमाहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।