नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चिसंखुगढीको एनसेल टावरमा आगजनी

ओखलढुंगान्युज, माघ १३ चिशंखुगढी । आईतवार राति ओखलढुंगाको एक एनसेल टावरमा आगजनी भएको छ । चिशंखुगढी गाउँपालिका वडा नं. ३ को कोटगढी भन्ने स्थानमा रहेको एनसेलको टावर रहेको स्थानमा आईतवार राती अज्ञात समूहले आगजनी गरेको हो । आगलागीका कारण चिशंखुगढी आसपासका क्षेत्रमा एनसेलका टेलिफोन सेवा अबरुद्ध भएका छन् ।

आगलागीवाट एनसेलको टावरमा रहेको इन्भटर ४ थान, सोलार प्यानल २ थान र तारहरु जलेर नष्ट भएका छन् । एनसेलको टावर सगै रहेको सिडिएमए टेलिफोनका टावरका तारहरुमा समेत क्षति भएको छ । गएराती देशैभर एनसेलको टावरमा बम विष्फोटर आगजनीका घटनाहरु भएका कारण नेकपा विप्लब समूहले नै आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपी घटना कसले घटाएको हो भन्ने बारेमा पत्ता लागेको छैन ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगा अन्तर्गत रहेको खानिभञ्ज्यांगको प्रहरी र शसस्त्र प्रहरीबलको टोली पुगेर अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षिक श्री प्रसाद राईले जानकारी दिनुभयो । प्रहरी निरिक्षक राईका अनुसार एनसेलका प्रतिनिधीहरु घटनास्थल पुगेर अबरुद्ध रहेको टेलिफोन सूचारु गरेका छन् । आगलागीका कारण एनसेलको टावरमा के कति मात्रामा क्षति भयो भन्ने बारेमा मुल्यांकन भने भैसकेको छैन ।