नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

संस्थाको वार्षिक उत्सवको अवसरमा अपाङ्गता भएका व्यक्तिलाई नगद सहयोग

ओखलढुङ्गान्युज, माघ ११ ओखलढुङ्गा । ग्रामिण महिला जागरण सञ्जाल ओखलढुङ्गाले जिल्लाका १० जना पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको मोलुङ तथा सिद्धिचरण नगरपालिकाका गरि १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई गत बुधबार नगद हस्तान्तरण गरेको हो । संस्थाको वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुलाई जनही नगद रु ५ हजार प्रदान गरिएको हो ।

संस्थाको आफ्नो २५ औं वार्षिकोत्सवको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुको जिवन निर्बाहमा सहयोग पु¥याउने उद्धेश्यले नगद हस्तान्तरण गरिएको ग्रामिण महिला जागरण सञ्जाल ओखलढुङ्गाका कार्यक्रम संयोजक विमला धमलाले जानकारी दिनुभयो । संस्थाहरुको वार्षिक उत्सव मनाउदा लाखौं रुपैया खर्च गर्छन् । त्यो पैसा खानपिन र रमाईलोमा खर्च भएपनि त्यसवाट केही उपलब्धि देखिदैन । त्यसरी खर्च गरिने पैसालाइ सदुपयोग गरेर अपाङ्गता भएका र जिवन निर्वाह गर्न समस्या भैरहेका व्यक्तिहरुलाई दिदा केही राहत हुने भन्ने सञ्जालको बैठकमा छलफल भएपछि अपाङ्ग भएका केही व्यक्तिहरुलाई रकम हस्तान्तरण गरिएको संयोजक धमलाको भनाई छ ।

संस्थाले आफ्नो कार्यक्षेत्र रहेको स्थानीय तहको प्रत्येक वडामा एक–एक जनाको दरले छनौट गरि नगद हस्तान्तरण गरेको हो । साविकको गाउँ विकास समिति र हालको गाउँपालिका तथा नगरपालिकाको वडामा रहेका पूर्ण अपाङ्गता भएका व्यक्तिहरु मध्ये पनि पारिवारिक रुपमा अत्यन्तै कमजोर रहेकाहरुलाई छनौट गरि स्थानीय वडा अध्यक्षहरु मार्फत रकम उपलब्ध गराईएको धमलाको भनाई छ । संस्थाको वार्षिक उत्सव मनाउने विषयमा भएको छलफलका क्रममा अपाङ्गलाई नगद प्रदान गरिने भएपछि संस्थाले सम्बन्धित वडालाई जानकारी गराई एकएक जनाको नाम सिफारिस गरिदिन अनुरोध गरेको थियो । सम्बन्धित वडाको सिफारिसका आधारमा वडाका एकजनालाई मात्र नगद हस्तान्तरण गरिएको हो ।

खाद्य सुरक्षा परियोजना अन्तर्गत कृषिक्षेत्रमा सहयोग, विपन्नहरुको आयश्रोतमा बृद्धि गराउन पशुपालन तथा कृषि उत्पादनमा जोड, प्रजनन् स्वास्थ्य एवम् वालविवाह न्युनिकरण लगायतका क्षेत्रमा हाल संस्थाले काम गर्दै आएको छ । संस्थाले मोलुङ गाउँपालिका १ की हेम कुमारी नेपाली, वडा नं. २ की टेक कुमारी कार्की, वडा नं. ३ की मिना सुनुवार, वडा नं. ४ की सृप्रिया राय, वडा नं. ५ की हार्दिक दाहाललाई नगद उपलब्ध गराएको छ । त्यस्तै वडा नं. ६ का रुद्र कटवाल, वडा नं. ७ का बेदहरि अधिकारी र वडा नं. ८ का अस्विन राईलाई नगद उपलब्ध गराएको हो । त्यसैगरि सिद्धिचरण नगरपालिका ७ का पासाङ दावा शेर्पा र वडा नं. १२ का दुर्गामाया राईलाई पनि नगद प्रदान गरेको छ ।

संस्थाको वार्षिक उत्सवमा हुने खर्चलाई बचाएर अपाङ्गहरुलाई सहयोग गरेको भन्दै संस्थालाई वडा अध्यक्षहरुले धन्यवाद दिएका छन् । ग्रामिण महिला जागरण सञ्जालले झै जिल्लामा कृयाशिल अन्य संघसंस्था तथा व्यक्तिहरुले समेत वार्षिक उत्सवको नाममा गरिने खर्चलाई जोगाएर अपाङ्गहरुको जिवन निर्वाहका लागि खर्च गर्ने हो भने पूर्ण अपाङ्गता भएर छटपटाईरहेकाहरुलाई केही राहत हुन सक्ने सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विनोद कुमार श्रेष्ठले बताउनुभयो । आगामी दिनमा जिल्ला भित्रिने परियोजनाहरु मार्फत यस्ता अपाङ्गता भएकाहरुको लागि पनि केहि लगानी गर्न संस्थाहरुलाई आग्रह गर्नुभयो ।