नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि

ओखलढुङ्गान्युज, माघ १० काठमाडौँ । चीनमा देखिएको कोरोना भाइरस नेपालमा पनि भएको पुष्टि भएको छ । अध्ययनको लागि चीन गएर फर्किएका नेपाली एक विद्यार्थीमा भाइरस संक्रमण भएको पाइएको हो । कोरोना भाइरसका शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएकोमा त्यो नमूनामा भाइरस भएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी कोरोना भाइरसको संक्रमित नेपालमा पनि पाइएको जानकारी दिएको हो। चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस अर्थात कोरोना भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो।

अन्य बिरामीभन्दा अलग राखेर उनीहरुको डेंगु, स्क्रब टाइफस, इन्फ्लुएन्जालगायत सबै जाँच गरिएको थियो। उनी चीनको वुहानबाट छुट्टीमा नेपाल फर्किएका थिए। नेपालमा परीक्षण गर्ने उपकरण नभएकाले उनको रगत तथा र्यालको नमूना विदेश पठाइएको थियो। चीनमा फैलदै गएको उक्त भाइरसका बारेमा विकसित ठूला मुलुकहरुले छुट्टै परीक्षण स्थल खडागरि संकास्पद बिरामीको निगरानी बढाएको भएपनि नेपालले भने कुनै कदम चलाएको छैन ।