नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

खिजिचण्डेश्वरीमा विमानस्थलमा परीक्षण उडान सफल

ओखलढुङ्गान्युज, पौष ७ ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको खिजीदेम्वा गाउँपालिका स्थित खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान सफल भएको छ । सोमबार बिहान तारा एयरको ढ ल्भ्ख् विमानले सफलता पुर्वक अवतरण गरेको हो । परीक्षण उडान तथा विमानस्थलको स्थलगत अनुगमनका लागि  संघिय सरकारका पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसदको विकास समितिको टोली खिजिचण्डेश्वरी विमानस्थल पुगेका थिए।

विमानस्थल निर्माण कार्य सुरुभएको १३ वर्ष पछि विमानस्थल निर्माण गत हप्ता मात्रै पुरा भएको थियो । विमानस्थलको निर्माण कार्य सकिएपछि सम्भावित उडानका सन्दर्भमा संघिय प्रतिनिधीसभाका सदस्य माननिय सांसद यज्ञराज सुनुवारको नेतृत्वमा गत मंगलवार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन गरेको थियो । स्थलगत अनुगमनमा लागि सांसद सुनुवारसगै नागरिक उड्डयन प्राधिकरणका ईञ्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराई, तारा एयरका अपरेटिङ म्यानेजर शान्त प्रजापती, क्याप्टेन सन्तोष शाह खिजिचण्डेश्वरी पुगेका थिए ।

मंगलवार फर्किएको नागरिक उड्डयनको टिमले गत विहिबार शोमवार परीक्षण उडान भर्ने गाउँपालिकालाई जानकारी गराएको थियो । त्यसै योजना मुताविक शोमबार परीक्षण उडान गरिएको हो । विमानस्थलको अबलोकनका लागि पुग्नुभएका मन्त्री  भट्टराईले निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको बताउनुभयो । मन्त्री  भट्टराईले विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । खिजी क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्ने भट्टराईको भनाइ छ।

विमानस्थलको अवलोकनका लागि खिजिचण्डेश्वरी आईपुग्नुभएका मन्त्री  भट्टराईलाई स्थानीयले विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन् । निर्माण सकिन १३ वर्ष लागेजस्तो उडान पनि परीक्षणमा सिमित नहोस् भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको संघिय प्रतिनिधी सभाका सांसद एवम् ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले बताउनुभयो । स्थानीयले मागपत्र नै पेश गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन् । पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न मन्त्रालयको तर्फवाट सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्वा शेर्पाले बताउनुभयो । मन्त्री भट्टराईले स्थानीयको मागलाई आफुले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

१३ वर्ष सम्म ३ करोड भन्दा बढी खर्च गरेर विमानस्थल निर्माण कार्य सकिएको छ । पर्यटकीय क्षेत्र भएपनि सडक यातायातको पहुँचमा कमी तथा खिजीबाट सोलुखुम्बु जिल्लाको लुक्ला लगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ । नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा जान पदमार्ग सहज हुनेछ । यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्ला डाँडा मध्येको एक देम्वाडाँडा समेत पुग्न सकिन्छ । यो विमानस्थलको रनवे ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ ।