नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

खिजिचण्डेश्वरीमा हवाई मैदानको निर्माण कार्य पुरा, परीक्षण उडानको तयारी

ओखलढुङ्गान्युज, पौष २ ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको खिजि चण्डेश्वरीमा निर्माणाधीन अबस्थामा रहेको हवाई मैदानको निर्माण कार्य सम्पन्न भएको छ । हवाई मैदानको निर्माण कार्य सम्पन्न भएसगै मंगलवार हवाई मैदानमा परीक्षण उडानको सम्भावनाको बारेमा एक अनुगमन टोली आएर अनुगमन समेत गरेको छ ।

सम्भावित उडानका सन्दर्भमा संघिय प्रतिनिधीसभाका सदस्य माननिय सांसद यज्ञराज सुनुवारको नेतृत्वमा मंगलवार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन गरेको छ । स्थलगत अनुगमनमा लागि सांसद सुनुवारसगै नागरिक उड्डयन प्राधिकरणका ईञ्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराई, तारा एयरका अपरेटिङ म्यानेजर शान्त प्रजापती, क्याप्टेन सन्तोष शाह, खिजिदेम्बा गाउँपालिका प्रमुख वेद वहादुर रोका पुग्नुभएको थियो ।

लामो समयको अथक प्रयास पश्चात निर्माण कार्य सम्पन्न भएको र अनुगमन टोलीले स्थलगत अनुगमन समेत गरेकोले चाडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेद वहादुर रोकाले वताउनुभयो । काठमाण्डौंवाट हेलिकप्टरमा आएको टोलीको अनुगमन पश्चात मौसम प्रतिकुलता नभएमा नागरिक उड्डयन प्राधिकरणको तर्फवाट परीक्षण उडान गर्न केही समस्या नरहेको बताएको छ । केही दिन अगाडी परेको पानीले मैदान केही हिलो समेत भएको छ । मौसम प्रतिकूलता नरहे र पानीले भिजेको मैदान सुकेपश्चात मैदानमा हवाई उडानको परीक्षण उडान गर्ने सल्लाह भएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

निर्माण कार्य सुरु भएको झण्डै १३ वर्ष भएको भएपनि अब चाही हवाई मैदान उडान परीक्षणका लागि तयारी भएको खिजिदेम्बा गाउँपालिकाले जनाएको छ । तत्कालीन ओखलढुङ्गा जिल्लाका जिल्ला सभापती महेश कुमार कोर्मोचाको कार्यकालमा खिजिचण्डेश्वरीमा हवाई मैदान निर्माणका बारेमा छलफल सुरुवात भएको थियो । हवाई मैदान निर्माणका लागि बिचबिचमा छलफल चल्दै आउने क्रममा २०६३ साल तिरवाट भने हवाई मैदान निर्माणका लागि थोरैथारै बजेटको विनियोजन भएको थियो । अर्थिक वर्ष २०७३–०७४ बाट भने नेपाल सरकारको बजेटमा नै समाबेश गरि हवाई मैदान निर्माण कार्यलाई तिब्रता दिईएको थियो ।

निर्माण सम्पन्न भएको खिजिचण्डेश्वरीको यस हवाई मैदानमा नियमित हवाई उडान भएमा यस क्षेत्रका ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । नियमित उडान भएमा दिनमा १५ देखी १८ घण्टा लगाएर गाडीमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता समेत अन्त्य हुनेछ भने काठमाण्डौं पुर्याएर आपत्कालीन उपचार गर्नुपर्ने बिरामीहरुको पनि अकालमा नै ज्यान जानवाट बच्नेछ ।