नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

“सुरक्षित आप्रवासन” सम्बन्धि शक्तिशाली किशोरी समूहको सडक नाटक, “साच्चै कारुणीक”

ओखलढुङ्गान्युज, मंसिर २६ ओखलढुङ्गा । बुधबार ओखलढुङ्गामा शक्तिशाली किशोरी समूहले सुरक्षित आप्रवासन सम्बन्धि सडक नाटक प्रस्तुत गरेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ११ मिलनचोकमा रहेको उक्त समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अबसर पारेर सडक नाटकको आयोजना गरेको हो ।

आर्थिक प्रलोभन, रोजगारीको नाउँमा सिप तथा रोजगारीको पूर्ण जानकारी विना बैदेशिक रोजगारमा जादा त्यसवाट हुने असर दुख कष्टका बारेमा नाटकवाट सन्देश दिन खोजिएको थियो । त्यस्तै पछिल्लो समयमा बैदेशिक रोजगाका लागि गाउँगाउँवाट पलायन हुन थालेका युवा तथा युवतीहरुलाई देशमा नै रहेर पनि जिवीकोपार्जनका लागि पेशा ब्यबसाय गर्न सकिन्छ भन्ने सन्देश समेत नाटकले दिएको थियो ।

वैदेशिक रोजगारका लागि आफ्ना कलिला नानीहरुलाई घरमा नै छाडेर पैशा कमाउन गएका महिलाहरु तथा उनीहरुको बालबच्चाको कारुणीक अबस्थालाई समेत नाटकले झल्काएको थियो । त्यस्तै प्रेमको नाममा कलिलै उमेरमा विवाह बढ्दै गएको तथा उनीहरुको ईच्छा र चाहनाका लागि समेत बैदेशीक रोजगारमा जानेहरुको कसरी लर्को लागेको छ र त्यसले कस्तो विकृती समाजमा ल्याएको छ भन्ने बारेमा नाटकले सन्देश दिन खोजेको थियो । 

जग्गा जमिन तथा आफुसग भएको सबै सम्पति धितो राखेर बैदेशिक रोजगारीका लागि युवायुवती विदेशीने क्रम दिनानुदिन बढि रहेको छ । त्यो लगानीलाई गाउँकै कुनै पेशामा लगानी गरेमा यही पैसा कमाउन सकिन्छ । सकेसम्म वैदेशिक रोजगारका लागि नजानु राम्रो र जानै परेमा भाषा र सीप पनि सिकेर कामका बारेमा आफू पूर्ण रुपमा जानकार भएर गएमा दुःख कष्ट र समस्या झेल्नु पर्दै भन्ने मुख्य सन्देश दिन खोजेको नाटकका निर्देशक पवित्रा विश्वकर्माले बताउनुभयो ।

शक्तिशाली किशोरी समूहले गत शुक्रबार पनि घरेलु हिंसाका कारण परिवार तथा समाजमा कस्तो खालको असर पर्छ भन्ने बारेमा रुम्जाटारमा समेत गएर नाटक प्रदर्शन गरेको थियो । सिद्धिचरण नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका कार्यालयको समन्वयमा हालसम्म उक्त किशोरी समूहले १ दर्जन भन्दा बढि सडक नाटकहरु प्रदर्शन गरिसकेको छ । नाटक प्रदर्शनका लागि समूहले नै कथा निर्माण, पात्र छनौट तथा निर्देशन समेत गर्ने गरेको भएपनि नाटक प्रदर्शनका लागि उपयुक्त साउण्ड सिस्टम नहुँदा भने आफूहरुलाई समस्या हुने गरेको समूहकी अध्यक्ष एवम् नाटककी निर्देशक विकको गुनासो छ ।

जनचेतना मूलक सडक नाटकका लागि शक्तिशाली किशोरी समूहलाई परिचालन गर्ने गरेको र उनीहरुको प्रस्तुती दमदार रहेको सिद्धिचरण नगरपालिका महिला तथा बालबालिका शाखाका अधिकृत सरिता तामाङले वताउनुभयो । सम्बन्धित निकायवाट यस समूहको संरक्षण र सहयोग भएमा अरु थप प्रभावकारी सडक नाटक यस समूहले प्रस्तुत गर्न सक्ने कुरामा दुबिधा नरहेको तामाङको भनाई छ । सडक नाटक ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धी)को सहयोगमा सिद्धिचरण नगरपालिकाले आयोजना गरेको समृद्धी परियोजनाका सूचना सहायक यमुना धमलाले जानकारी दिनुभयो ।