नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आज उपनिर्वाचन : ३७ जिल्लाका ५२ पदमा नेकपा र कांग्रेसको अग्नी परिक्षा

ओखलढुङ्गान्युज, मंशिर १४ काठमाण्डौं । संघीय तथा प्रदेशसभा निर्वाचन भएको दुई वर्षपछि आज प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्र राखिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अहिले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आजको उपनिर्वाचनलाई विश्लेषकहरूले नेकपा र नेपाली कांग्रेसको अग्नी परीक्षाको रुपमा लिएका छन् ।

आज हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ । उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएकाले ढुक्क र निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गरेको छ।

उपनिर्वाचनमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने पनि व्यवस्था रहेको छ ।

आज हुने उपचुनावमा गण्डकी प्रदेश, कास्कीको क्षेत्र नम्बर २, भक्तपुर, बागलुङ र दाङमा प्रदेश सभाको उपचुनाव हुन लागेको हो । त्यस्तै धरान उपमहानगरमा नगरप्रमुखका लागि, फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा गाउँपालिका अध्यक्षको चुनाव हुँदै छ । त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको चुनाव हुन लागेको हो । विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि आज मतदान हुँदैछ।

आज हुने उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये प्रतिनिधि सभा सदस्यको निर्वाचन तर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यको निर्वाचन तर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तह तर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको पनि निर्वाचन आयोगले जनाएको छ ।