नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

बिरोधको नयाँ रुप : ठेकेदार बिरुद्ध शंख ध्वनी

ओखलढुङ्गान्युज, मंसिर १३, काठमाण्डौं । पछिल्लो समयमा विकास निर्माणको कामलाई विभिन्न बहानामा ढिलासुस्ती गर्ने ठेकेदारका बिरुद्ध नागरिक समाजको तर्फबाट बिरोध हुन थालेको छ । बन्द र हड्ताल मात्रै बिरोध हैन भन्ने उदाहरण केहि दिन अगाडी काठमाडौंमा नागरिकहरुले देखाएका थिए । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारकाे फोटो सार्वजनिक स्थल तथा सवारी साधनमा टास गरि विरोध गरेका थिए ।

यता दोलखा जिल्लामा भने नागरिक समाजका अगुवाहरुले काममा ढिलासुस्ती गर्ने ठेकेदारका बिरुद्ध शंख फुकेर बिरोध प्रदर्शन गर्ने भएका छन् । केही दिन अगाडी मात्रै चरिकोट–खाडीचौर सडकको ढिलासुस्तीप्रति दोलखाबासीले सांकेतिक बिरोध प्रदर्शन गरेका थिए । सांकेतिक बिरोध प्रदर्शन पश्चात पनि अझै ठेकेदारले काम गर्ने छाँट नदेखेपछि नागरिक समाजले बिरोधको आन्दोलनलाई जारी राख्दै शनिबार चरिकोट बजारमा शंख फुकेर बिरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् । यो बिरोधको अनौठो तरिका हो ।

यसअघि दोलखाको लाईफलाईनको रुपमा रहेको खाडीचौर–चरिकोट सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो सार्वजनिक स्थल तथा गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले त्यसयता चरिकोटमा मानव साङलो र सिठ्ठी जुलुस निकालेका थिए । विकास निर्माणमा राज्य र निर्माण व्यवसायीको लापरवाहीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेपछि जिल्लाबासी सडक संघर्षमा आउन बाध्य भएको स्थानीयको आरोप छ ।

खाडीचौरदेखि चरिकोटसम्मको सडक निर्माणका लागि ठेक्का सम्झौता भएको ५ बर्ष बितिसक्दा पनि निर्माण कार्य हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाही र सरकारकै मिलेमतोले जोखिमपूर्ण यात्रा र सास्ती खेप्नुपरेको स्थानीयको आरोप छ ।

दुई ओटा प्याकेजमा बाँडेर निकालिएको सवा अर्ब रुपैयाँ बजेटको उक्त ठेक्का मध्ये २५ किलोमिटरको खाडीचौर मुडे खण्डमा ५ बर्षमा १३ किलोमिटर मात्र कालोपत्रे भएको छ भने ३० किलोमिटरको मुडे–चरिकोटखण्डको प्रगती विवरण शुन्य रहेको छ ।