नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

शुशासन र विकासका लागि सञ्चार तथा नागरिक समाजबीच सहकार्यमा जोड

ओखलढुङ्गान्युज, मंशिर १० ओखलढुङ्गा । समाजको विकासको लागि सेवा प्रदायक निकाय,  नागरिक समाजका संस्था तथा सञ्चारकर्मीहरुका बिचमा सहकार्य हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शोमबार ओखलढुङ्गामा आयोजित विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा सहभागीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराउने प्रमुख तथा प्रभावकारी माध्यम भनेको नै मिडिया भएकोले नागरिकका समस्या र विकृतीलाई थप उजागर गर्नुपर्ने बताएका थिए । जिल्लाका स्थानीय तहहरुले आफुले आफ्नो स्थानीय तहलाई आवश्यक पर्ने कानून तथा कार्यबिधी बनाई सकेको भन्ने दावी गरिरहेको भन्दै निर्माण गरिएका कानूनलाई नागरिकले आत्मसात गर्न नसकेको पनि वताएका थिए । कानून निर्माण गर्दा स्थानिय सरकारले नागरिकको बिचार  तथा सुझाबलाई समेत समाबेश गराउन ध्यानाकर्षण गराउने गरि कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

समाजको विकासका लागि हरेक क्षेत्रमा सहकार्य भएमात्रै सफलता हात लाग्ने भन्दै सेवा प्रदायक निकाय, नागरिक समाज तथा सञ्चारकर्मीहरुले निरन्तर सहकार्य गर्नुपर्नेमा समेत जोड दिईएको थियो । स्थानीय सरकारलाई लैङ्गिक मैत्री तथा शुशासन मैत्री बनाउनका कानून निर्माण गर्न ध्यानाकर्षण गराउने गरि समेत मिडियाले कलम चलाउन आग्रह गरिएको थियो । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधीहरुले भने पछिल्लो समय नागरिक समाजको सक्रियता कम भएको भन्दै सक्रियता बढाउनुपर्नेमा जोड दिईएको थियो ।

अन्तरक्रिया कार्यक्रमले नागरिक समाज र सञ्चारजगत बीचको सहकार्यलाई निरन्तरता दिदै प्रभावकारी बनाउन निरन्तर छलफल तथा अन्तरक्रिया गर्ने तथा स्थानीय तहमा रहेको ऐन तथा कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक निती निर्माणका लागि संयुक्त पैरवी गर्ने निश्कर्ष निकालेको छ । अनौपचारिक सेवा केन्द्र ईन्सेकको आयोजनामा सिद्धिचरण नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रम स्थानीय सरकारका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी तथा सञ्चारकर्मीहरु सहित ५० जना भन्दा बढिको सहभागीता रहेको थियो ।