नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

बालाचतुर्दशीको अबसरमा आज दिप जलाईदै 

ओखलढुङ्गान्युज, मंशिर ८, ओखलढुङ्गा । आज मार्ग शीर्षकृष्णपक्षको त्रयोदशी । प्रत्येक वर्ष आजको दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने प्रचलन रहि आएको छ । बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ ।

काठमाण्डौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्ने प्रचलन छ । सोहि प्रचलन अनुरुप आज ओखलढुङ्गाका सबै शिवालय मन्दिरहरुमा भक्तजनहरुको घुईचो लागेको छ । विशेष गरि आज ओखलढुङ्गाको नर्मदेश्वर, हर्कपुरको त्रिबेणी, फेदिगुठ, विलन्दु लगायतको क्षेत्रमा रहेको शिव मन्दिरहरुमा दिउसै देखि भक्तजनहरुको भिड लागेको छ । आज मोलुङ गाउँपालिकाको वडा नं. ४ मा पर्ने हर्कपुरको त्रिवेणी धाममा लोपोन्मुख हुदै गएको बालनलाई संरक्षण गर्ने उद्धेश्यले बालननाच प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

आज साँझ दीपदान गरी भोली (सोमबार) बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हिन्दुहरुको हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भनिएको छ । भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ ।