नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ककनीको प्रतिक्षालयको अनुगमन सगै उद्घाटन

ओखललढुङ्गान्युज, कार्तिक २७ ओखलढुङ्गा । जिल्लाको चर्चित देविथान ककनीमा निर्माण भएको दर्शनार्थी प्रतिक्षालयको मंगलवार उद्घाटन गरिएको छ । संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवार र १ नम्बर प्रदेशका अर्थ समिति सभापति एवम् ओखलढुङ्गा प्रदेश ख का माननिय सांसद मोहन कुमार खड्का हिमशिखरले मंगलवार संयुक्त रुपमा अनुगमन गर्नुभएको हो ।

धार्मिक तथा पर्यटकिय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको चम्पादेवीको यस ककनी मन्दिर ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दुमा पर्दछ । देविका पाँच जना दिदी बहिनी मध्ये यहाँको देवीलाई जेठी देविको रुपमा भक्तजनहरुले मान्दै आएका छन् । मन्दिरमा दर्शनका लागि टाढाटाढा आउने तिर्थालु, श्रद्धालु भक्तजनहरुको सुविधालाई लक्षित गरेर गत आर्थिक वर्षमा प्रदेश नं. १ को पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेट मार्फत प्रतिक्षालय निर्माण गरिएको थियो ।

निर्माण गरिएको चम्पादेवी ककनी मन्दिरको प्रतिक्षालयको अनुगमन सगै मंगलवार नै उद्घाटन समेत गरिएको छ । प्रत्येक वर्ष तिहारको भाईटिकाको भोलिपल्ट देखी १५ दिन सम्म यहाँ मेला लाग्ने गर्दछ । मेलामा प्रत्येक वर्ष ८० हजार देखी १ लाख सम्म तिर्थालु दर्शनार्थी भक्तजनहरुको भिड लाग्ने गरेको चम्पादेवी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष झम्कहरि बडाल बताउनुहुन्छ । दर्शनार्थीहरुको भिड लाग्ने यस बजार क्षेत्रमा रात विताउनका लागि बस्ने बासको र स्थानको समेत उपयुक्त स्थान नहुदा टाढावाट आउने र बालबालिका, बृद्ध तथा रोगी तिर्थालुहरुका लागि समस्या हुदै आएको थियो । यहि समस्यालाई मध्यनजर गरेर प्रदेश सरकारको करीब २९ लाख रुपैयाको बजेटमा प्रतिक्षालय निर्माण सम्पन्न भएको हो ।

प्रतिक्षालयको अनुगमन पछि उद्घाटन कार्यक्रममा गर्दै संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवार र प्रदेश नं. १ का अर्थ समितिका सभापति मोहन कुमार खड्का हिमशिखरले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसदद्वय सुनुवार र खड्काले आगामी दिनहरुमा यस चम्पादेवी मन्दिर ककनीमा पर्यटकिय क्षेत्र बनाउदै यहाँको विकासका लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।