नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

व्याकुल माईला गोल्ड कपको उपाधि नयाँ नेपाल सरोकार समाजलाई

ओखलढुङ्गान्युज, कात्तिक ५ ओखलढुङ्गा । आठौं संस्करणको ब्याकुल माईला गोल्ड कपको उपाधि नयाँ नेपाल सरोकार समाज सोक्माटारले जितेको छ । शोमबार भएको फाईनल खेलमा ज्वालामुखी युवा क्लव हर्कपुरलाई प्रतिष्पर्धात्मक खेलमा ३–१ गोल अन्तरले पराजित गर्दै गोल्ड कपको ८ औँ संस्करणको उपाधि जितेको हो ।

जित संगै विजेता टिमले नगद रु एक लाख ५० हजार सहित शिल्ड जितेको छ । यस्तै उपविजेता ज्वालामुखी युवा क्लवले ८० हजार जितेको छ । नयाँ नेपाल सरोकार समाजको जितका लागि १७ नम्बर जर्सी लगाएका सविन केसीले तिनै गोल गरेका थिए । केसीले खेलको पहिलो हाफमा १ गोल, दोश्रो हाफका अन्तिममा १ गोल र विपक्षी खेलाडीले डि बक्स भित्र लडाएपछि पेनाल्टीमा १ गोल गर्दै तिन गोल गरेका थिए । दोश्रो हाफको अन्तिममा ज्वालामुखी युवाक्लवको तर्फवाट २ गोल भएपनि १ गोललाई भने रेफ्रिले अपसाईडको रुपमा लिदा ३–१ को जित सुम्पदै आफु उपविजेतामा नै रहन बाध्य भएको हो । उपाधि विजेता नयाँ नेपाल सरोकार समाज आयोजक टिम समेत हो ।

प्रतियोगितामा दिलकर्ण बेष्ट अवार्डको १० हजार रुपैया पुरस्कार वेष्ट टिम काठमाडौं फुटबल क्लबलाई प्रदान गरिको छ । उत्कृष्ट खेलाडीको उपाधि भने मानस राईलाई प्रदान गरिएको छ । त्यस्तै उदयमान खेलाडीको उपाधि हिलेपानी फुटबल क्लबका क्षितिज राईलाई प्रदान गरिएको छ । खेल अबधीभर सर्वाधिक गोल गर्ने खेलाडी नयाँ नेपाल सरोकार समाजका सविन केसी भएका छन् । केसीले खेल अवधिमा आठ गोल गरेका थिए । उत्कृष्ट डिफेन्डर ज्वालामुखी युवा क्लवका सुमन राई, उत्कृष्ट गोल रक्षकको पुरस्कार नयाँ नेपाल सरोकार समाजका जङ्गीबहादुर आले मगरलाई प्रदान गरिएको छ । उत्कृष्ट तथा उदियमान खेलाडीहरुलाई पुरस्कार स्वरुप जनही नगद रु. ५ हजार प्रदान गरिएको थियो ।

यस्तै पहिलो पटक भएको रुपामाया स्मृती महिला फुटबल प्रतियोगितामा डीवाईसी दुर्छिम खोटाङ्गलाई पेनाल्टीमा हराउदै ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउँपालिका–३ उवुँको सौजन्य युवा क्लव विजयी भएको छ । उबुँको सौजन्यले २५ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गरेको छ । उपविजेता डीवाईसी दुर्छिम खोटाङ्गले भने उपविजेता हुदै दश हजार पुरस्कार हात पारेको छ ।

ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ स्थित राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई ब्याकुल माईलाको जन्म गाउँ सोक्माटारमा रहेको दुधकोशी नदिको बगरमा असोज २६ गते बाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा पुरुष तर्फ ओखलढुङ्गा लगायत खोटाङ्ग, सिन्धुली, उदयपुर र काठमाण्डौका गरि २६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । महिला तर्फ आठ टिमको सहभागिता थियो ।

प्रतियोगिताका विजयीहरुलाई संघिय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवार, प्रदेश नं. १ अर्थ समितिका सभापती मोहन कुमार खड्काले शील्ड तथा पुरस्कार वितरण गर्नुभएको थियो । सोक्माटारमा रहेको यस खेलमैदानलाई जिल्ला स्तरीय खेलमैदानको रुपमा विकास गर्नका लागि साथै गाउँमा लुकेर रहेका खेलाडीहरुको क्षमतालाई बाहिर ल्याउने उद्धेश्यका साथ प्रत्येक वर्ष दशैंको पूर्णिमाको भोलिपल्टवाट प्रतियोगिताको आयोजना गरिदै आएको छ ।