नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

निबर्तमान सभामुख महरालाई इच्छुक प्रतिष्ठानका अध्यक्ष दुखीको मार्मिक पत्र

ओखलढुङ्गान्युज, असोज ३० काठमाण्डौं । ईच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखीले यौन दुब्यबहारको आरोप लागेका निबर्तमान सभामुख कृष्ण बहादुर महरालाई सामाजिक सञ्जाल मार्फत मार्मिक पत्र लेखेका छन् । प्रतिष्ठानका अध्यक्ष दुःखी नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रिय सदस्य समेत रहेका हुन् । उनै अध्यक्ष दुःखीले लेखेको उक्त पत्रको पूर्णपाठ यस्तो छ ः

आदरणीय महरा सर,

क्रान्तिको फरक धारबाट न्यानो अभिवादन ।

तपाईंको राजनीतिक जिवनलाई रसातलमा पुर्याउने गरि तपाईं माथि लागेको चरित्रगत आरोपले आज अनुसन्धानका निम्ति पुरपक्षका लागि हिरासतमा राखिनु पर्दा म अत्यन्तै स्तब्ध र दुखित भएको छु । म विगत सात बर्षदेखि तपाईंबाट अलग धारको पार्टी राजनितीमा छु । तथापि तपाईंलाई म आदर र सम्मान नै गर्दथें, गर्छु पनि । तपाईंसँग जोडिएकी पात्रलाई म तपाईंलाई जत्तिकै नजिकबाट चिन्दछु र जान्दछु पनि । पार्टीमा तपाईंको छवि, व्यक्तित्व, र पटकपटक तपाईंले प्राप्त गरेको सत्ता सुविधाबाट तपाईंकै पार्टीका र तपाईंका छेउछाउकै नेताहरु डाहा र आरिसले चिढिएका थिए । यतिबेला तपाईं हिरासतको छिंडी बाट संसदीय राजनीतिको घिनौना खेललाई गौरले चियाईरहँदा बाहिर तपाईंका बिरोधीहरुले ककटेल मनाईरहेका होलान् भन्ने म ठान्दछु ।

यो केसमा सत्यता के कति छ त्यो तपाईं र सम्वन्धित महिलालाई नै थाहा होला । बाँकी अरुले त अनुमानमै तिर चलाउने हुन् । केही न केही कमजोरी त तपाईंबाट भयो होला भन्ने म ठान्छु । हावा नचली पात हल्लिँदैन भन्ने नेपाली उखान नै छ । मन्द हावा चलेको कुरा तपाईंका धुरी भित्रका बैरिहरुले थाहा पाए होलान् अनि पात हल्लिने मौका छोपेर डोजर चलाइदिए र रुखै उखेलिदिए ।

सुन्छु यतिबेला तपाईंकै पार्टीका भित्रीनी पट्टीका दौतरीले पार्टीको एउटा सिण्डिकेट ढल्यो भन्दै खुसि मनाउँदै छन् रे । जनयुद्धलाई प्रचण्ड बाबुरामले संसदवादमा सट्टेबाजी लगाए पछि तपाईंले पद, प्रतिष्ठा, लाभ र सुखसुविधाका निम्ति जसरी उनिहरुको सति जानुभयो त्यसको परिणाम आज हिरासत बसेर (जेल पनि हुन सक्छ) भोग्दै हुनुहुन्छ । किनकि यो व्यवस्थाको राजनीतिमा मान्छेलाई “युज एण्ड थ्रो” गर्ने नै हो । कर्मचारीबाट करिव बीस करोड चन्दा उठाएर सबै रकम प्रचण्डलाई र्पुयाउन तपाईं प्रयोग हुनुभयो । माधव नेपालको सरकार ढाल्न सांसद खरिदका लागि चिनियाँ ब्यापारीबाट पचास करोड चन्दाको बार्गेनिङ गर्न तपाईं प्रयोग हुनुभयो । यद्यपि उक्त रकम प्राप्त त भएन अनाहकमा तपाईं बद्नामीत हुनु पर्यो ।

देउवासँग मिलेर सरकार बनाउने लविङ गर्न प्रचण्ड दूत बनेर दक्षिणी प्रभुका द्वार खटखटाउन तपाईं नै प्रयोग हुनुभयो । चुनवाङको बैठक पूर्व कारवाहीमा परेका बाबुरामलाई बोकेर प्रचण्डको दूत बनेर दक्षिणी प्रभुका दूतहरुकहा संसदवादको भीख माग्न तपाईं प्रयोग हुनुभयो । तपाईंकै रोहवरमा प्रचण्ड बाबुरामले ब्युरोक्र्याट मार्फत दक्षिणी सरकारलाई बुझाएको बिन्तिपत्र एसडिमुनीले सार्वजनिक नै गरेका थिए । “प्रचण्ड र सुमार्गी” जोड्ने पुल तपाईंनै हुनु भयो । पछि उनिहरुको लगनगाँठो बलियोसँग बाँधिएपछि तपाईं आउट हुनुभयो । यस्ता घटना त अनगिन्ती छन्, तपाईं प्रयोग भएका ।

जनयुद्धलाई धनयुद्धमा परिणत गरेपछि माउखाने राजनीतिको शिकार हुने कुरा अनौठा र उल्काको विषय नै हैन । तपाईंमाथिको आरोप, आरोप जत्तिकै सत्य हो भने यसले तपाईंलाई मृत्युपर्यन्त खेदिरहने छ । यदि सामान्य कमजोरी हो भने तपाईंले पर्दा पछाडिको षड्यन्त्रको पर्दाफास् गर्नैपर्छ । आफ्नो टाउको जल्दा मितको टाउको बचाउनु जरुरी छैन । किनकि तपाईंले अङ्गालेको राजनीति सर्वहारा वर्गीय राजनीति होईन । बुर्जुवा राजनीतिमा जसरी तपाईंका आफ्नै दौंतरी बैरी बनेर खडा भए, त्यसको जवाफ त्यसैगरी दिनुपर्ने हुन्छ । अर्को विकल्प भनेको तपाईंले जनयुद्ध प्रति गरेको घातको हिस्सेदारी लिंदै अहिलेसम्म गरेको बुर्जुवा राजनीति प्रति पश्चाताप गरेर आत्मसमीक्षा गर्दै क्रान्तिकारी पार्टी र आन्दोलनमा जोडिने कुरा हो ।

तपाईंको यो घटनाले दुईवटा गम्भीर विषय उजागर गरेको छ । तपाईंको आफ्नै गल्ती हो भने त्यसको भागिदार तपाईं मात्रै हुनुहुनेछ । यदि तपाईंको सामान्य असावधानीको कमजोरी मात्रै हो भने अब जनयुद्धबाट आएका कुनै पनि नेता सकुशल रहन सक्ने छैनन् । विभिन्न बहानामा क्रमशः सबैलाई यसैगरी सिध्याउने खेल हुने छ । नत्र तपाईंलाई जुन प्रकारको चरित्रगत आरोप लागेको छ, त्यस प्रकारका चरित्रमा दाग लागेका तपाईंको पार्टीमा दर्जनौं छन् । उनिहरुले यस प्रकारको सजाय भोग्नु नपर्ने तपाईंले मात्रै भोग्नु पर्ने भनेको तपाईंलाई सिध्याउने डिजाइन रहेछ भनेर बुझ्नुपर्छ ।

संसदीय बुर्जुवा व्यवस्थामा सुरा, सुन्दरी, भ्रष्टाचार, शोषण, उत्पीडन, छिड्कि हान्ने खेल त्यो व्यवस्थाको अनिवार्य र सुन्दर पक्ष नै हो । पद, पैसा र प्रतिष्ठाको तामसी रसले सबैलाई यसैगरी मदहोस् बनाउँछ र लठ्याएर सिध्याउँछ । यसबाट वच्न चतुर, ध्रुत, साम दाम दण्ड भेद जानेको, अगाडि पछाडि ब्याकफोर्स भएकाहरु मात्रै यसबाट बचेर पछिसम्म सत्तामा टिक्न सक्छन् । यदि तपाईं यो केसमा परेकै हो भने तपाईं चतुर्याई गर्न सक्नु भएन । जसले तपाईंलाई राजनीतिबाटै हात धुनुपर्ने अवस्थामा पुर्यायो । तपाईंलाई फसाइएको हो भने तपाईंले क्रान्तिकारी बाटो रोज्नै पर्छ । आगे तपाईंको मर्जी ।

उहीँ तपाइँबाट ऐनमौकामा उपेक्षित तपाईंको दुःखी ।