नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा चिशंखुगढीका एक वडा अध्यक्षमाथि कुटपिट

विएन श्रेष्ठ, असोज १३ ओखलढुङ्गा । ओखलढुङ्गामा चिशंखुगढीका एक वडा अध्यक्ष आफ्नै पार्टी नेकपाका जिल्ला तहका नेताबाट कुटिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओखलढुङ्गाका जिल्ला सचिवालय सदस्य अशोककुमार थापाले चिसंखुगढी गाउँपालिका-२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई कुटपिट गरेका हुन् ।

शानिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा तथा खाना खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि आक्रमण गरेर घाइते बनाएको बस्नेतले बताए । खाना खादै पार्टीको कार्यक्रम तथा विकासका योजनाका विषयमा छलफल गर्दै गर्दा अपशब्द गाली गलौज गरेर आफुलाई आक्रमण गरेर घाइते बनाएको वडा अध्यक्ष बस्नेतले बताए । बस्नेतको निधार र टाउकोमा गहिरो चोट लागेको छ । यो समाचार तयार पार्दासम्म उनको खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

घाईते बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् । पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर यसअघि पनि थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुदै आएको थियो । पार्टीको गाउँपालिका कमिटीका अध्यक्ष बस्नेतलाई आफूले कुटपीट गरेको थापाले स्विकार गरेका छन् । आफू र प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङलाई जोडेर गाली गलौज गर्दै आक्रमण गर्न खोज्दा प्रतिवाद मात्रै गरेको थापाले बताए । तर आफुले नियतबस नै वडा अध्यक्षलाई कुटपिट भने नगरेको थापाले बताएका छन् ।

थापा सांसद गुरुङका विश्वासिलो पात्र हुन् । थापासँग नेकपाका स्थानीय कमिटी तथा जनप्रतिनिधिसँग विगतदेखि नै विवाद हुँदै आएको थियो । घटनाको बारेमा घटना सामान्य विवाद भएको जानकारी आएको तर विस्तृत रुपमा आफुहरुलाई केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।