नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

गायीका कविता खत्रीको गरीबको जुनी बजारमा

  • ओखलढुङ्गान्युज, असोज, ओखलढुङ्गा । ओखलढुङ्गेली नव गायीका कविता खत्रीको पहिलो गीत बजारमा आएको छ । हिन्दूहरुको चाड बडादशैं तथा शुभदिपावलीको अवसर पारेर गरीबको जुनी बोलको गीत बजारमा आएको हो ।

सार्वजनिक भएको उक्त गीतमा गाउँघरमा रहदा लागेको साहूको ऋण तिर्नका लागि भनेर परदेशीएका दाजुलाई चाडबाड लाग्दै गर्दा घर फर्कन आग्रह गरिएको छ । चाडबाड आउदाखेरी गरीबको घरमा थपिने पिडालाई समेत गीतमा चित्रण गरिएको छ । गीत गाउँघरका बास्तविक घटनासँग मेल खाने खालका छन् । गीत बजारमा आएसगै सार्वजनिक अडियो र भिडियोले धेरै नेपालीहरुको मन जित्न सफल रहने अपेक्षा गरिएको छ ।

यस लोकदोहोरी गीतको शब्द सृजना समिर प्रकाश पाण्डेले गरेका हुन् भने प्रेम सापकोटाले संगीत भरेका छन् । त्यस्तै गीतमा आवाज भने ओखलढुङ्गेली नवगायीका खत्री र पुरुषोत्तम गैरेको रहेको छ ।  गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र सगुन शाहीको अभिनय रहेको छ भने कपील लामाले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । 

ओखलढुङ्गाको गाम्नाङ्गटार गाविस वडा नं. ९ हालको लिखु गाउँपालिका वडा नं. ७ खत्रीको जन्मथलो हो । भविष्यलाई पछ्याउदै कर्मलाई अंगाल्दै अगाडी बढ्ने क्रममा खत्री हाल काठमाण्डौ बस्छिन् । हास्य टेलिसिरियल हर्के हल्लारवाट आफ्नो अभिनय यात्रा सगै कलाकारीता क्षेत्रमा प्रबेश गरेकी खत्रीले करीब एक दर्जन गीतमा समेत अभिनय गरेकी छिन् । पहिलो गीत सार्वजनिक गरेसगै दोश्रो गीत पनि रेकर्डिङ भैसकेको र बजारमा आउने क्रममा रहेको बताईएको छ ।