नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

सजमाविको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

ओखलढुङ्गान्युज, असोज ५ ओखलढुङ्गा । ओखलढुङ्गाको सगरमाथा जनता माध्यमिक विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार एक औपचारीक कार्यक्रमका बीच सगरमाथा जनता माद्यमिक विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । गत साउन ३१ गते विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को सामाजिक परिक्षण गर्ने निर्णय गरेको थियो ।

विद्यालयको उक्त निर्णय अनुसार विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष दिलबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्य समिति गठन गरेको थियो । संयोजक खत्रीको संयोजकत्वमा रहेको सात सदस्यीय टोलीले करीब एक महिना लगाएर गरेको सामाजिक परीक्षण प्रतिवेदनलाई आईतवार औपचारीक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो ।

आईतवार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विद्यालयमा कूल बजेट २ करोड १८ लाख ९१ हजार ८ सय १० रुपैया आम्दानी भएको बताईएको छ । कूल आम्दानी मध्ये १ करोड ८७ लाख ८८ हजार ९ सय ३८ रुपैया खर्च भएको र ३१ लाख ३ हजार ५ सय ७२ रुपैया बचत रहेको बताईएको छ । बचत रहेको रकम मध्येमा नयाँ निर्माण हुने चारकोठे भवन सहित २७ लाख ४० हजार ८ सय २९ रुपैया बराबरको कार्यक्रम सञ्चालन हुन बाकी रहेको बताईएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, विद्यालयका पूर्व शिक्षक तथा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले विद्यालयमा भएगरेका गतिबिधीलाई कागजमा मात्रै उतार्ने भन्दा पनि व्यबहारवाट नै पुष्टि गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयको स्थापना कालमा सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गा गरि तिन जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा रहेको सगरमाथा जनता माद्यमिक विद्यालयले ७० वर्ष पार गर्दै गर्दा अपेक्षित छलाङ मार्न नसकेको बताउनुभयो । जिल्ला सदरमुकाममा रहेको यस विद्यालयमा सबैको नजर जाने र चासोका विषय समेत हुने भएकोले आफ्नो बालबालिकाको पढाईका बारेमा चासो दिन सबै अविभावकलाई उहाँले आग्रह गर्नुभयो । शिक्षकले पनि कर्तव्य पूरा गर्ने भन्दा पनि आफ्नो जिम्मेवारीलाई ख्याल गर्न अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा रहनु भएका सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले पनि कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै गुरुङले आफू भन्दा अगाडीका बक्ताहरुले तथा कार्यक्रममा सम्बोधन गर्ने बालबालिकाहरुले विद्यालयको तिनओटा राम्रा काम सुनाउन धेरै सोच्नु परेको तर समस्याका कुराहरुभने सहजै रुपमा धेरै भन्न सकेको भन्दै विद्यालयमा अझैपनि धेरै कुराहरु सुधार गर्नुपर्ने रहेको बताउनुभयो । सामुदायीक विद्यालयमा गरिबका बच्चाहरु पढ्न आउने भन्दै शिक्षकले आफ्ना बच्चा निजी विद्यालयमा पढेको भन्दै आफुले अध्यापन गराउने बालबालिकाको भने त्यती चासो नगर्ने गरेको गुनासो आउने गरेको बताउनुभयो । शिक्षकले तलब मात्र खाने नभएकोले कसले के रकति गर्यो भनेर आक्षेप नलगाई जिम्मेवारी बोध गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा निवृत्त राष्ट्रसेवक कर्मचारी स्वर्गीय बालकृष्ण न्यौपानेको स्मृतिमा उहाँका नातिनी आभा ढुङ्गानाको जन्मदिन पारेर छोरी शुशीला ढुङ्गानाको सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा १ देखी १० सम्म अध्ययनरत ३० जना छात्रा–छात्रलाई झोला तथा स्टेशनरी समेत वितरण गरिएको थियो ।