नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कलाकार प्रतिष्ठान ओखलढुङ्गाको अध्यक्षमा सुनाम निर्वाचित

विएन श्रेष्ठ, साउन २५ ओखलढुङ्गा । समृद्ध नेपाल निर्माण का लागि लोक संगीतको संरक्षण गर्नु आजको आवश्यकता भएको संघीय प्रतिनिधि सभाका माननीय सांसद यज्ञराज सुनुवारले बताउनुभएको छ । सांसद सुनुवारले जिल्लाको कलाकारहरुको विकासको लागि स्थानीय तहहरुले लगानी गर्न आग्रह गर्न समेत आग्रह गर्नुभयो । लोक तथा दोहोरी गीत राष्ट्रिय प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति ओखलढुङ्गाको सातौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद सुनुवारले यस्तो बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघीय प्रतिनिधि सभाका माननीय सांसद सुनुवारले आफुले जिल्लामा केही सहयोग गर्न नसकेपनि राष्ट्रिय कलाकारहरुको सम्मान खातिर केन्द्रीय तहमा भने केही सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कला नभएको समाज र कला नभएको मानिस मानिस हुन नसक्ने भन्दै राजनितिक भाषण बाजीले भन्दा कलाकारहरुको आवाज शसक्त हुदा संसार परिवर्तन गर्न कलाकारहरुको भुमिका नै महत्वपूर्ण हुने भएकाले पनि यसको संरक्षण र विकास गर्नु पर्नेमा जोड दिनुभयो । कलाको संरक्षण तथा विकासका लागि संघीय प्रतिनिधि सभाकाे सांसदको हैसियतले सिंहदरबार र वानेश्वरमा कुनै आवाज उठाउन परेमा पनि सदैव तयार रहने प्रतिबद्धता जनाउनुभयो ।

शुक्रबार सम्पन्न अधिवेशनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाको नयाँ जिल्ला कार्यसमितिको चयन समेत रहेको छ । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा सपना सुनाम, प्रथम उपाध्यक्ष बालकुमार श्रेष्ठ, महिला उपाध्यक्ष रणमाया श्रेष्ठ, सहकोषाध्यक्षमा सरिता मगरलाई निर्वाचित गरेको छ ।

त्यसैगरी निर्वाचित हुने सदस्यहरुमा निर्मल श्रेष्ठ, भुवन मगर, टेकबहादुर कार्की, पदम बहादुर श्रेष्ठ, संगिता सुनुवार, गंगामाया दुराल, अनिता बस्नेत, दीपा बस्नेत दीक्षा बस्नेत लगायत रहेका छन् । कार्यसमितिको बाँकी रहेको सचिव, सहसचिव, कोषाध्यक्ष पदमा जिल्ला कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने नवनिर्वाचित महिला उपाध्यक्ष रणमाया श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले नौजना सदस्यहरूलाई मनोनित सदस्यमा निर्वाचित गरेको छ । मनोनित हुने सदस्यहरुमा सिमा श्रेष्ठ, शुशिला थापा, कृष्ण बल तामाङ, तिलक सुनुवार, केशव गदाईली, कविता खत्री लगायत रहेका छन् ।

संघीय प्रतिनिधि सभामा माननीय सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश नं १ का अधिवेशन संयोजक शिव हमाल, केन्द्रीय सदस्य कृष्ण आसु, पूर्वकेन्द्रीय सदस्य नविन पौडेल, मानार्थ सदस्य धर्मराज पोखरेल लगायत विशिष्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

आफु निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष सपना सुनामले अध्यक्ष पदमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा कलाकारहरुको यो संगठनलाई ओखलढुङ्गामा कृयाशिल बनाउनुका साथै कलाकारीताको विकास र संरक्षणमा सदैव प्रतिबद्ध रहने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रमलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, सुनकोशी गाउँ पालिकाका प्रमुख रुद्र प्रसाद अधिकारी, मोलुङ गाउँ पालिकाका प्रमुख मणिराज राई, ओखलढुङ्गाका प्रख्यात हास्य कलाकार कल्याण राई लगायतले शुभकामना दिनुभएको थियो । ओखलढुङ्गा जिल्लामा रहेर कलाकारहरुको विकासमा कलम चलाउने पत्रकार तथा कलाकारहरुलाई सम्मान गर्नुका साथै अतिथि तथा कार्यक्रम गर्न सहयोग पुर्याउने ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।