नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा सञ्चालक समितिलाई नर्सिङ क्याम्पसको १२ सिट

ओखलढुङ्गान्युज, साउन १५ ओखलढुङ्गा । ओखलढुङ्गामा सञ्चालित नर्सिङ क्याम्पसको सिटमा सञ्चालक समितिको बैठक बसेर भागबण्डा गरेको छ ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्बन्धनमा २०७५/७६ देखि सञ्चालन सुरु भएको छ । नर्सिङ क्याम्पस सुरुवात भएको दोश्रो बर्ष सुरु हुनै लाग्दा नर्सिङ क्याम्पसमा शैक्षिक सत्र २०७६/०७७ को भर्नाका लागि भागवण्डा गरिएको हो ।

ओखलढुङ्गा सामुदायिक अस्पतालमा नर्सिङ कलेजको सुरुवात भएको छ ।  शैक्षिक सत्र २०७५/०७६ वाट सुरुवात भएको स्कूल अफ हेल्थ साइन्समा नर्सिङ अध्ययनका लागि जम्मा २० वटा सिट तय गरिएको छ । अध्ययनका लागि रहेको २० सिटमा १२ वटा कोटा सञ्चालक समितिको नाममा पहुँचवालाले भागवण्डा गरेपछि सर्वसाधारण तथा उत्कृष्ट विद्यार्थीहरु अबसर विहिन बन्ने भएका छन् ।

नर्सिङ कलेजको सञ्चालक समितिले साउन ८ बैठक बसेर १२ सिटमा भागबण्डा गरेको हो ।  समितिको निर्णय अनुसार सीटीईभीटीका कर्मचारीलाई १ जना, अस्पतालमा कार्यरत कर्मचारीलाई १, सिद्धिचरण नगरपालिकालाई २ जना सिफारिस गर्न कोटा दिएको छ । त्यस्तैगरि ओखलढुङ्गा उद्योग वाणिज्य संघलाई २, छात्रवृत्तिमा २, अनमी १ र पुरुष कोटा ३ गरी १२ जनाको सिटमा भागबण्डा गरिएको छ ।

कुट सिट संख्या २० मध्ये बाँकी ८ सिटमात्र खुला प्रतिस्पर्धाबाट चयन गरिने उल्लेख निर्णयमा गरिएको छ । सञ्चालक समितिको उक्त निर्णय बाहिरीए सगै जिल्लाका सरोकारवालाहरुले उक्त निर्णयको आलोचना गरेका छन् । नर्सिङ पढ्न आवेदन दिएका विद्यार्थीहरुले समेत प्रतिस्पर्धाका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

विद्यार्थी भर्नाको सिट विभाजनको उक्त निर्णय काठमाण्डौं सीटीईभीटीको भवनमा बसेको निर्णयमा उल्लेख छ । ओखढुङ्गामा भएका सञ्चालक समिति सदस्यहरु समेत काठमाण्डौं आई बैठक गरी भागवण्डाको निर्णय गरिएको थियो । निर्णयमा कलेज सञ्चालक समितिका अध्यक्ष विनयकुमार मिश्र, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ ओखलढुङ्गाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, ओखलढुङ्गा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले हस्ताक्षर गरेका छन् ।

नर्सिङ कलेजमा अध्ययनका लागि करीब ४ दर्जन बढि विद्यार्थीहरुले आवेदन निएको कलेज प्रशासनले जनाएको छ ।