नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेकपाले दियो पुष्पलाल स्मृति दिवस मनाउदै बाढि पिडितलाई सहयोग

विवेश श्रेष्ठ, साउन ७, ओखलढुङ्गा । ओखलढुङ्गामा नेकपाले ४१ औ पुष्पलाल स्मृति दिवस मनाएको छ । मंगलवार ओखलढुङ्गाको आफ्नै पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपाका नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृती दिवस मनाएको हो । स्वर्गीय श्रेष्ठको तस्वीरमा अविर तथा माल्यार्पण गरि नेकपाका ओखलढुङ्गाका नेताहरुले पुष्पलाल श्रेष्ठको नेपाली समाज योगदानका बारेमा चर्चा गरेका थिए ।

स्वर्गीय श्रेष्ठले बारेमा चर्चा गर्दै नेकपा ओखलढुङ्गाका ईञ्चार्ज एवम् संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले नेपालमा नेकपाको स्थापना सगै नेता स्वर्गीय श्रेष्ठले तिन स अन्तर्गत संघर्ष, संगठन र सिद्धान्तको विकास गरेको बताउनुभयो । नेकपालाई अग्रदिशामा लैजाने क्रममा हाल सरकारले अर्को स अर्थात समृद्धिलाई समेत सगसगै लैजाने बताउनुभयो ।

नेपालमा हाल ६० प्रतिशत भन्दा बढि सिटमा नेकपाले विजयी हासिल गरेको भन्दै नागरिकले दिएको अभिमतलाई सम्मान गरेर अघि बढ्न पनि सबै निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभयो । नागरिकहरुले दिएको विश्वासको अभिमतलाई अबहेलना नगर्न र स्वर्गीय नेता श्रेष्ठले विकास गरेको सिद्धान्त र आफ्नो व्यबहारका बारेमा आफैले समीक्षा गरेर अघि बढ्न समेत कार्यकर्ताहरुलाई जिल्ला ईञ्चार्ज सुनुवारले निर्देशन समेत दिनुभयो ।

त्यस्तै नेकपाका जिल्ला सचिवालय सदस्य एवम् सिद्धिचरण नगरपालिकाका ईञ्चार्ज गुण कुमार राई रुपकले स्मृती सभामा स्वर्गीय नेतालाई सम्झेर मात्रै सपना पुरा नहुने भन्दै आफुमा भएको गलत व्यबहारलाई तत्काल छाड्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वर्गीय नेता श्रेष्ठको योगदानको चर्चा गर्दै श्रेष्ठले स्मृति सभा आफ्नो कृयाकलापको बारेमा समीक्षा गर्ने दिन पनि भएकोले नेकपाका नेता तथा कार्यकर्ताहरुले आफ्नो टाउकामा आफै पुल्ठो सल्काएर अग्नी परीक्षा दिुनपर्ने बेला आएको समेत बताउनुभयो ।

त्यस्तै नेकपा जिल्ला सचिवालय सदस्य निशान्त शर्माले स्वर्गीय नेता श्रेष्ठ नेपाली राजनितीलाई परिवर्तन गर्न सफल सिद्धान्तकार भएको बताउनुभयो । नेकपा बर्गसंघर्षको धारवाट अगाडी बढेको भन्दै  नेकपाका नेताहरु आफुमा भएको खराव आचरणहरुलाई त्यागेर अघि बढेमा स्वर्गीय नेता श्रेष्ठले देखेको सपना साकार हुने पनि बताउनुभयो ।

कार्यक्रमलाई नेकपाका जिल्ला नेताहरु नेत्रप्रसाद भट्टराई, मेख बहादुर खड्का, रुपेश साक्य, राधा निरौला, बाम बुद्धिजिवी युवराज दाहाल, पत्रकारको तर्फवाट पूर्णप्रसाद न्यौपाने लगायतले स्वर्गीय नेता श्रेष्ठको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

बाढि पिडितलाई नेकपाको आर्थिक सहयोग

गत असार २६ देखी परेको अविरल बर्षातका कारण ओखलढुङ्गामा ज्यान गुमाउने ५ जनाका परिवारलाई नेकपा ओखलढुङ्गाको तर्फवाट आर्थिक सहयोग गरिएको छ । नेकपा ओखलढुङ्गाले स्वेच्छिक अभियान सञ्चालन गरि ओखलढुङ्गामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको छ । ओखलढुङ्गामा बाढि पहिरोमा परि चिशंखुगढी गाउँपालिकामा १, सिद्धिचरण नगरपालिकामा १, सुनकोसी गाउँपालिकामा १ र मोलुङ गाउँपालिकामा २ गरि पाँच जनाले ज्यान गुमाएका थिए ।

केही दिन अगाडीवाट नेकपा ओखलढुङ्गाले सञ्चालन गरेको बाढिपिडितलाई स्वेच्छिक आर्थिक सहयोग अभियानमा ओखलढुङ्गा र काठमाण्डौंवाट गरि करिब २ लाख बराबर आर्थिक सहयोग संकल भएको नेकपा ओखलढुङ्गाका नेता नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । उठेको सहयोग रकमबाट मृतकका परिवारलाई नेकपा ओखलढुङ्गाका जिल्ला ईञ्चार्ज तथा सांसद सुनुवारले आर्थिक नगदै हस्तान्तरण गर्नुभएको हो ।

नेकपा ओखलढुङ्गाले पुष्पलाल स्मृति दैविप्रकोप विपद कोषको समेत निर्माण गरेको छ । नेकपा ओखलढुङ्गाको तर्फवाट मंगलवार बाट नै लागू हुने गरि पुष्पलाल स्मृति प्रतिष्ठानको नाममा रहेको बैक खातालाई पुष्पलाल स्मृती दैविप्रकोप विपद कोषको रुपमा परिवर्तन गर्ने पनि जिल्ला ईञ्चार्ज सुनुवारले बताउनुभयो । उठेको बाकी सहयोग रकमलाई त्यही खातामा जम्मा गरिने र दैविप्रकोपमा परेका अन्य व्यक्तिहरुका लागि तत्काल राहत संकलन गर्न नसकिने भएकोले त्यो कोषको रकमवाट विपतमा परेकालाई सहयोग गर्ने उद्देश्य उक्त कोषको रहेको पनि जिल्ला ईञ्चार्ज सुनुवारले जानकारी दिनुभयो ।